काठमाडौं ।
सरकारले फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संघीय संसदमा दर्ता गर्ने तयारी गरेको छ । कानुनमन्त्री सोबिता गौतमले फोहोर व्यवस्थापनलाई उत्पादनदेखि अन्तिम व्यवस्थापनसम्मको सम्पूर्ण चक्रका रूपमा सम्बोधन गर्ने गरी विधेयक तयार गरिएको जानकारी दिएकी छन् ।
फोहोर उत्पादन न्यूनीकरण, स्रोतमै वर्गीकरण, सङ्कलन, स्थानान्तरण केन्द्रसम्म ढुवानी, प्रशोधन केन्द्रमा पुनःप्रयोग तथा पुनःप्रशोधन, फोहोरबाट मल, ग्यास वा ऊर्जा उत्पादन र बाँकी फोहोरको सुरक्षित अन्तिम विसर्जनसम्मका विषय विधेयकमा समेटिएको मन्त्री गौतमले बताएकी छन् ।
उनका अनुसार विधेयकमा शून्य फोहोर, चक्रीय अर्थतन्त्र र उत्पादकको विस्तारित जिम्मेवारीजस्ता आधुनिक अवधारणालाई समेत कानुनी व्यवस्थामा समेटिएको छ । ‘फोहोर उठाउनु मात्र समाधान होइन । फोहोर उत्पादनदेखि अन्तिम व्यवस्थापनसम्मको सम्पूर्ण चक्र व्यवस्थित गरिएको छ,’ मन्त्री गौतमले बुधबार फेसबुकमा लेखेकी छन् ।
प्रकृतिले नेपाललाई सुन्दर देश दिएको भए पनि सडक, नदी, बस्ती तथा सार्वजनिक स्थलमा बढ्दो फोहोरले प्राकृतिक सुन्दरता, वातावरण र जनस्वास्थ्यमा चुनौती थपिएको उनले उल्लेख गरेकी छन् ।
स्वच्छ, स्वस्थ र सुन्दर नेपाल निर्माणतर्फ विधेयकलाई महत्वपूर्ण कानुनी कदमका रूपमा अघि बढाउन लागिएको मन्त्री गौतमको भनाइ छ ।












