काठमाडौं ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन दिएको छ ।
मन्त्रालयले मंगलबार सबै मन्त्रालय, आयोग, सचिवालय, सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सबै स्थानीय तहलाई परिपत्र गर्दै सरुवा भएका कर्मचारीलाई सम्बन्धित निकायमा हाजिर गराउन निर्देशन दिएको हो ।
निजामती सेवालाई व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउन सरुवा भएका कर्मचारीलाई निजामती सेवा ऐन, २०४९ तथा निजामती सेवा नियमावली, २०५० बमोजिम तोकिएको अवधिभित्र रमाना दिनुपर्ने कानुनी व्यवस्था रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय सरुवा भएका कर्मचारीलाई निजामती सेवा नियमावली, २०५० को नियम ४० बमोजिमको बहाली म्याद सकिँदासमेत रमाना नदिने, विभिन्न बहानामा साविककै कार्यालयमा राखेर कामकाज गराउने तथा सरुवा भइसकेपछि पनि रमाना नगरी पूर्वकार्यालयबाटै तलबभत्ता भुक्तानी गर्ने गरेको जानकारी प्राप्त भएको मन्त्रालयले जनाएको छ ।
यसका कारण स्थानीय तहमा जनशक्ति अभाव भई सेवा प्रवाहमा गम्भीर समस्या सिर्जना भएको मन्त्रालयको भनाइ छ ।
मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना गर्न निर्देशन दिँदै अन्यथा कानुनबमोजिम हुने चेतावनी दिएको छ ।














