अब एक लिटर प्याकेट दुधको मूल्य ८५ रुपैयाँ तिर्नुपर्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

अब पोकामा हुने एक लिटर दुधको मूल्य ८५ रुपैयाँ तिर्नुपर्ने भएको छ ।

सरकारी स्वमित्वको दूग्ध विकास संस्थान (डीडीसी) ले प्रशोधित स्टान्डर्ड दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाउने निर्णय गरेसँगै ८५ रुपैयाँ तिर्नुपर्ने भएको हो ।

संस्थानको बुधबार बसेको बोर्ड बैठकले नयाँ उपभोक्ता मूल्य निर्धारणको निर्णय गरेको बोर्डले जनाएको छ। बढेको मूल्य भोलि शुक्रबारदेखि लागू हुनेछ ।

बुधबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संस्थानलाई दूधको मूल्य बढाउन अनुमति दिएको थियो । तीन इकाइ फ्याट र ८ इकाइ एसएनएफको आधारमा प्रशोधित दूधको मूल्य तोक्न मन्त्रालयले सहमति दिएको थियो ।

यसअघि मन्त्रिपरिषद् बैठकले किसानले पाउने गरी कच्चा दूधको मूल्य ६ रुपैयाँ ५२ पैसाले बढाउने निर्णय गरेको थियो ।

  • २७ माघ २०७८, बिहीबार १३:२५ प्रकाशित