काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारलाई दमनकारी, पीडक, जनविरोधी र अत्याचारी शासकको संज्ञा दिएका छन् ।
नेपाल पत्रकार महासंघ र छापा माध्यम बचाऊ सुझाव कार्यदलले बुझाएको ध्यानाकर्षण पत्र आइतबार दिउँसो बुझ्दै उनले यस्तो संज्ञा दिएका हुन् ।
उनले आफू व्यक्तिगत रुपमा विगत ६० वर्ष देखि समानता र स्वतन्त्रताको यात्रामा अघि बढिरहेको बताए । ओलीले जनताका हक- अधिकारलाई लिएर लडाइँको मैदानमा उभिइरहेको बताएका छन् ।
उनले स्वतन्त्रताको पक्षमा उभिएकाहरूलाई अहिलेका शासकले बुझ्नुपर्ने भन्दै अरू अप्ठेरोमा पर्दा रमाउने शासक नटिक्ने बताए । त्यस्ता शासकहरूको जनताबाट विरोध भएर नाश हुने पनि उनले बताएका छन् ।
कार्यदलले सञ्चारमाध्यमलाई दिइँदै आएको लोककल्याणकारी विज्ञापन कटौती, बजारको मन्दी र सरकारी बेवास्ताका कारण भोग्नुपरेको संकटबारे ध्यानाकर्षण गराएपछि ओलीले लोकतन्त्र र प्रेस स्वतन्त्रता एकअर्काका पूरक भएको बताए ।
उनले सञ्चारमाध्यममाथिको प्रहार समग्र लोकतन्त्रलाई कमजोर बनाउने प्रयास भएको उल्लेख गर्दै यस्ता प्रतिगामी कदम लामो समय नटिक्ने बताए । अहिलेको सरकार छापामार नभई ‘छापा–मार’ सरकार जस्तो देखिएको कारण सञ्चारमाध्यमलाई अप्ठ्यारो परेको बताए ।
आफ्नो पार्टी र आफू व्यक्तिगत रूपमा पनि दशकौँदेखि अभिव्यक्ति स्वतन्त्रताको लडाइँ लड्दै आएको बताउँदै ओलीले छापा माध्यमको रक्षाका लागि एमालेको पूर्ण समर्थन रहेको स्पष्ट पारे ।
उनले छापा माध्यम ऐतिहासिक र तथ्यपूर्ण दस्ताबेज भएकाले डिजिटल युगमा पनि यसको महत्त्व कहिल्यै नघट्ने बताए ।












