एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनौट

केन्द्रभाग मिडिया

KLANG, MALAYSIA - SEPTEMBER 12: Pictures from the final match between Nepal and UAE held at the Bayuemas Oval on September 12, 2026 in Klang, Selangor, Malaysia. (Photo by Peter Lim/PhotoDesk.com.my) for Asian Cricket Council

काठमाडौं ।
नेपाल एसिया कपमा छनोट भएको छ । एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनौट भएको हो।

मलेसियाको क्वालालम्पुरमा शनिबार भएको एसीसी प्रिमियर कपको फाइनलमा नेपालले यूएईलाई पराजित गरेको हो । यो जितसँगै नेपालले एसिया कपका लागि सिट पक्का गरेको छ ।

एसिया कप अर्को वर्ष बंगलादेशमा हुनेछ। आयोजक बंगालादेशसँगै भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तान एसिया कपका लागि छनोट भइसकेका छन् ।

एसीसी प्रिमियर कप विजेता टोली पनि एसिया कपका लागि छनोट हुने व्यवस्था छ । आजको जितसँगै नेपाल पनि एसिया कप खेल्ने भएको हो ।

नेपालले यूएईलाई ४४ रनले पराजित गरेको हो । नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याउने क्रममा यूएई ४९.२ ओभरमा सबै विकेट गुमाएर २६८ रनमा समेटियो ।

यूएईका लागि राहुल चोप्राले शतक बनाए । उनले १०५ बलमा तीन चौका र चार छक्काको मद्दतमा शतक बनाएका हुन् ।

त्यस्तै, शोयब खानले ५२, तानिस सुरीले ४२, हरप्रित सिंहले ३३ र खुजैमा तनवीरले १५ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालका लागि करण केसीले तीन, ललित राजवंशीले दुई, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र गुल्सन झाले एक–एक विकेट लिए ।

यसअघि नेपालले आसिफ शेखको शतकका नौ विकेट गुमाएर ३१३ रन बनाएको थियो । नेपालका लागि आशिफले १०६ बलमा आठ चौका र चार छक्काको मद्दतले १०४ रन बनाएका थिए ।

त्यस्तै, गुल्सन झाले ५२, अर्जुन कुमालले ४३, रोहित पौडेलले ४०, दीपेन्द्रसिंह ऐरीले १८, बसिर अह्मदले १५, इशान पाण्डेले १३, सन्दीप जोराले सात, करण केसी र ललित राजवंशीले एक–एक रन बनाए ।

यूएईका लागि इब्रार अह्मदले चार, खुजैम तनवीरले दुई, हैदर अली र अदीब उस्मानीले एक–एक विकेट लिएका थिए ।

  • २७ भाद्र २०८३, शनिबार १६:०८ प्रकाशित