सङ्खुवासभामा चट्याङ लागेर एकको ज्यान गयो, दुई जना गम्भीर घाइते

केन्द्रभाग मिडिया

सङ्खुवासभा ।

सङ्खुवासभाको पाँचखपन नगरपालिका–८ पोख्राङमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।

पाँचखपन –८ पोख्राङमा गएराति वर्षासँगै आएको चट्याङ लागेर अलैँची केलाउँदै गरेका एक जनाको ज्यान गएको छ, भने दुई जना गम्भीर घाइते भएका छन् ।

पाँचखपन–८ पोख्राङमा अलैँची भट्टीमा अलैँची केलाउँदै गरेका २८ वर्षीय उमेश दाहालको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए । हावाहुरी वर्षासँगै वर्षेको चट्याङ लागेर गम्भीर घाइते भएका २८ वर्षीय दाहालको पाँचखपन आधारभूत अस्पताल वानामा भर्ना गरे लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

त्यस्तैगरी, चट्याङ लागेर सोही ठाउँका ६४ वर्षीय पुष्पलाल कट्वाल र ६२ वर्षीय छत्रबहादुर दाहाल गम्भीर घाइते  भएको प्रहरी निरीक्षक राजवंशीले बताए। घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो ।

गम्भीर घाइते ६४ वर्षीय कट्वाल र ६२ वर्षीय दाहालको पाँचखपन आधारभूत अस्पताल वानामा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनास्थल प्रहरी चौकी भर्तिवाल डाँडाबाट करिब चार किलोमिटरपूर्वमा रहेको जनाइएको छ । रासस

  • २५ भाद्र २०८३, बिहीबार ११:१४ प्रकाशित