काठमाडौं।
गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले प्रभावित नेपाललाई श्रीलङ्काले १० लाख अमेरिकी डलर आर्थिक सहयोग गरेको छ ।
नेपालका लागि श्रीलङ्काकी राजदूत रुवान्थी डेल्पिटियाले आज परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटेर सो सहयोग रकम हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सो अवसरमा परराष्ट्रमन्त्री खनालले विपद्को यस कठिन समयमा नेपालप्रति ऐक्यबद्धता र सहयोग व्यक्त गर्नुका साथै राहत तथा मानवीय प्रयासका लागि आर्थिक सहयोग उपलब्ध गराएकोमा श्रीलङ्का सरकार र त्यहाँका जनताप्रति कृतज्ञता व्यक्त गरे ।
श्रीलङ्काको सहयोगले नेपाल र श्रीलङ्काबिच रहेको मित्रता, पारस्परिक सहयोग र सहकार्यलाई प्रतिबिम्बित गरेको बताउँदै उनले विपद्को समयमा श्रीलङ्काले देखाएको सद्भाव र सहयोगका लागि नेपाल सरकारको तर्फबाट धन्यवाद व्यक्त गरे।
राजदूत डेल्पिटियाले बाढीका कारण भएको जनधन तथा पूर्वाधारको क्षतिप्रति श्रीलङ्का सरकार र जनताको तर्फबाट गहिरो दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति ऐक्यबद्धता प्रकट गरे ।











