बाढी प्रभावितहरूलाई अस्थायी बासका लागि सरकारले थाल्यो सर्वेक्षण

केन्द्रभाग मिडिया

काठमाडौं ।

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भएर विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा बसिरहेकाहरुलाई प्रभावितको इच्छा बमोजिम अस्थायी बसोबासको व्यवस्था गर्न सरकारले सर्वेक्षण गरिरहेको जनाएको छ ।

आपतकालीन अवस्थामा प्रभावितहरूका लागि होल्डिङ सेन्टर सञ्चालन गरिएको थियो । दोस्रो चरणमा अबको केही हप्ताभित्रै प्रत्येक परिवारलाई छुट्टाछुट्टै अस्थायी बसोबास व्यवस्था गर्न सर्वेक्षण सुरु भइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभागले भदौ २३ गते मंगलबारदेखि प्रभावित जिल्लाहरूमा टोली खटाएर ‘कोबो टुलबक्स’ प्रयोग गरी आवश्यकता मूल्याङ्कन फारम’ मार्फत सर्वेक्षण गरिरहेको हो ।

यसबाट प्रभावित व्यक्ति तथा परिवारहरूको विवरणका साथै घरको क्षतिको अवस्था ९पूर्ण वा आंशिक०, परिवारका दिवङ्गत वा बेपत्ता सदस्यको सङ्ख्या, सरकारी सहयोगमा अस्थायी आश्रय वा भाडामा बस्ने उनीहरूको रुचि, जग्गाको उपलब्धता, स्थानान्तरणको उत्तम विकल्प, खानेपानी, सरसफाइको प्रबन्ध र अन्य थप आवश्यकताहरूबारे जानकारी तत्काल प्राप्त हुने बताइएको छ ।

हाललाई सर्वेक्षणले होल्डिङ सेन्टरमा रहेका प्रत्येक घरपरिवारको आवश्यकता पहिचान गर्दै सरकारलाई आफ्नो योजना कार्यान्वयन गर्न सहयोग गर्ने सरकारको अपेक्षा छ । एक हप्ताभित्र सर्वेक्षण सम्पन्न गरेर लगत्तै होल्डिङ सेन्टरभन्दा बाहिरका प्रभावित परिवारहरूको पनि फारम प्रयोग गरी सर्वेक्षण गरिने सरकारको भनाइ छ ।

  • २४ भाद्र २०८३, बुधबार १६:०४ प्रकाशित