सृजना स्कुलद्वारा बाढीपीडितका लागि ५ लाख ५४ हजार रुपैयाँ राहत सहयोग

केन्द्रभाग मिडिया

रसुवाको भोटेकोशी–त्रिशूली नदीमा आएको महाविनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा विपद् व्यवस्थापनका लागि पोखरा महानगरपालिका–८, सृजनाचोकस्थित सृजना सेकेण्डरी स्कुलले ५ लाख ५४ हजार रुपैयाँ राहत सहयोग गरेको छ ।

गत भदौ १० गते आएको विनाशकारी बाढीबाट पीडित नागरिकको राहत, उद्धार तथा विपद् व्यवस्थापन कार्यमा सहयोग पु¥याउने उद्देश्यले विद्यालय परिवारले उक्त रकम सङ्कलन गरेको हो ।

विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी तथा विद्यालय प्रशासनको संयुक्त योगदानबाट रकम सङ्कलन गरिएको विद्यालयले जनाएको छ । सङ्कलित रकममध्ये विद्यार्थीबाट १ लाख ८७ हजार ९८२ रुपैयाँ, शिक्षक तथा कर्मचारीबाट १ लाख ५५ हजार ४९३ रुपैयाँ र विद्यालय प्रशासनबाट २ लाख १० हजार ५२५ रुपैयाँ सहयोग गरिएको हो ।

सङ्कलित रकममध्ये ३ लाख २० हजार रुपैयाँ हिसान कास्कीमार्फत र २ लाख २० हजार रुपैयाँ प्याब्सन कास्कीमार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिनेछ । त्यसैगरी १४ हजार रुपैयाँ नेपाल रेडक्रस सोसाइटी, कास्की शाखा मार्फत बाढी प्रभावित क्षेत्रमा पिडितलाई सहयोग पु¥याइने छ ।

यसैबीच, विनाशकारी बाढीको १३ औँ दिन अर्थात् भदौ २२ गते विद्यालयले बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । विद्यालय प्राङ्गणमा विद्यार्थी तथा विद्यालय परिवारलाई भेला गरी मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको थियो ।

सोही भेलामा मृतकहरूको सम्मानमा एक मिनेट मौनधारणसमेत गरिएको थियो । विद्यालयले बाढीमा बेपत्ता नागरिकको खोजी तथा सकुशल उद्धारको कामना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।

सृजना सेकेण्डरी स्कुलका प्राचार्य डोलराज पाण्डेले विद्यालय केवल पठनपाठनमा मात्र सीमित नरही विपद्को संवेदनशील घडीमा मानवीय भावनाका साथ सामाजिक उत्तरदायित्व निर्वाहमा समेत अग्रसर हुनुपर्ने बताए ।

उनले विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी र विद्यालय प्रशासनको संयुक्त प्रयासबाट उल्लेख्य रकम सङ्कलन हुनुले विपद्को समयमा मानवीय एकता, सहयोग र भाइचाराको भावना बलियो रहेको सन्देश दिएको बताए ।

सहयोग अभियानमा योगदान गर्ने सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक तथा कर्मचारीप्रति प्राचार्य पाण्डेले कृतज्ञता व्यक्त गरे । विद्यालय परिवारको यस पहलले सानो–सानो सहयोगलाई एकत्रित गर्दा ठूलो राहत कोष निर्माण गर्न सकिन्छ भन्ने सन्देशसमेत दिएको छ ।

  • २४ भाद्र २०८३, बुधबार १३:४३ प्रकाशित