काठमाडौं।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको १५ औँ महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।
समितिको मंगलबार बसेको बैठकले आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने केन्द्रीय महाधिवेशनलाई केन्द्रबिन्दुमा राखी तल्लो तहका अधिवेशनहरूको नयाँ मिति तय गरेको हो।
यसअघि भदौ २४ गतेदेखि वडा अधिवेशन सुरु गर्ने भनिए पनि भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी र त्यसले पुर्याएको धनजनको क्षतिका कारण कार्यतालिकामा केही परिमार्जन गरिएको निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
महाधिवेशनको नयाँ कार्यतालिका अनुसार गाउँरनगर वडा अधिवेशन २०८३ असोज ३ र ४ गते हुनेछ ।गाउँ/नगरपालिका अधिवेशन असोज ७ गते र प्रदेश सभा क्षेत्रीयरप्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज १० गते गर्ने निर्वाचन समितिले जनाएको छ ।
केन्द्रीय महाधिवेशन असोज १६, १७, १८ र १९ गते गर्ने मिति भने परिवर्तन भएको छैन । बाढीबाट अति प्रभावित जिल्लाहरू रसुवा, नुवाकोट र धादिङको हकमा तोकिएका निर्वाचन अधिकृत र स्थानीय तहसँगको समन्वयमा अधिवेशन सम्पन्न गरिने विज्ञप्तिमा उल्लेख छ। त्यस्तै, विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूको अधिवेशन पनि असोज १० गतेभित्रै सम्पन्न गरिसक्नुपर्नेछ।
जिल्ला अधिवेशन र प्रदेश अधिवेशनको कार्यतालिका भने दोस्रो चरणमा सार्वजनिक गरिने निर्वाचन समितिका संयोजक खड्काले जानकारी दिए ।












