पोखरा ।
आन्तरिक राजश्व कार्यालय पोखराको चालु आर्थिक वर्षको सुरुवातमा नै राजस्व संकलन उत्साहजनक देखिएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को साउनमा कार्यालयले ६० करोड ७९ लाख ३१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । साउनका लागि राखिएको ६४ करोड १८ लाख ४३ हजार रुपैयाँ लक्ष्यको ९५ प्रतिशत राजस्व एक महिनामै संकलन हुँदा आफू उत्साहित बनेको आन्तरिक राजश्व कार्यलय पोखराका प्रमुख शिव प्रसाद ढुंगानाले बताए ।
अझ गत वर्षको साउनसँग तुलना गर्दा पनि यसपटक राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको साउनमा ५१ करोड ९५ लाख ५ हजार रुपैयाँ संकलन भएको थियो । चालु आ.व.को साउनमा त्यो रकम बढेर ६० करोड ७९ लाख रुपैयाँ पुगेको हो । यसरी गत वर्षको सोही महिनाको तुलनामा ८ करोड ८४ लाख रुपैयाँभन्दा बढी अर्थात् १७ प्रतिशतले राजस्व संकलनमा वृद्धि भएको छ । ‘चालु आर्थिक वर्षको सुरुमै जसरी राजश्व संकलन भएको छ । त्यसले हामीलाई उत्साहित बनाएको छ । यसले चालु आर्थिक वर्षमा लक्ष्य भेटाउन समस्या हुँदैन भन्ने देखाएको छ’ प्रमुख ढुंगानाले भने ।
चालु आर्थिक वर्षको पहिलो महिनामै लक्ष्यको ९५ प्रतिशत पुग्नुले राजस्व संकलनको सुरुवात गत वर्षभन्दा राम्रो रहेको संकेत गरेको छ । यद्यपी ठूला औद्योगिक र व्यवसायिक प्रतिष्ठान कम रहेको पोखरा र स्याङ्जा कार्य क्षेत्र रहेको कार्यालयलाई यही १० भदौमा रसुवा स्थित भोटेकोशीमा गएको विनासकारी बाढीले प्रभाव पारेको छ । भोटेकोशी बाढीका कारण अहिले पोखरामा पर्यटक नआउँदा सुनसान जस्तै बनेको छ । यसको प्रभाव आगामी दिनमा राजश्व संकलनमा समेत देखिने कार्यलयका प्रमुख ढुंगाना स्विकार गर्छन् ।
- साउनमा कुन शिर्षकमा कति उठ्यो राजश्व ?
आन्तरिक राजश्व कार्यालय पोखराले साउन महिनामा आयकरबाट २८ करोड २८ लाख १९ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । साउनमा आयकरबाट ३१ करोड ६९ लाख रुपैयाँ राजक्व उठाउने लक्ष्य थियो । आयकरबाट लक्ष्यको ८९ प्रतिशत रजश्व संकलन भएको हो ।
कार्यलयले साउनमा घर बहालकर बाट ५० लाख ४५ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । साउनमा ८४ लाख ९४ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य थियो । संकललित राजश्व लक्ष्यको ५९ प्रतिशत हो । यसैगरी कार्यालयले व्याजकर बापत ३ करोड ७२ लाख ४३ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । साउन महिनामा ७ करोड ७२ लाख ९७ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य थियो । लक्ष्यको व्याजकर बापत ४८ प्रतिशत मात्र राजश्व संकलन भएको हो ।
कार्यालयले मूल्य अभिबृद्धि कर (मू.अ.कर) तर्फ साउनमा २२ करोड ४ लाख ९ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । साउन महिनामा २१ करोड ८२ लाख ९५ हजार रुपैयाँ राजश्व संकलन गर्ने कार्यालयको लक्ष्य हो । कार्यालयले मू.अ.कर तर्फ लक्ष्य भन्दा १ प्रतिशत बढी राजश्व संकलन गरेको हो ।
कार्यालयले अन्तशुल्क तर्फ ५ करोड ६ लाख ६३ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । साउन महिनाको लक्ष्य १ करोड ८७ लाख १३ हजार रुपैयाँ संकलन गरेको छ । यो लक्ष्यभन्दा १७१ प्रतिशत धेरै हो । त्यसैगरी अन्य तर्फ कार्यालयलय १ करोड १७ लाख ५२ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । साउन महिनामा जम्मा २१ लाख ४४ हजार रुपैयाँ राजश्व संकलन गर्ने कार्यालयको लक्ष्य थियो । साउनमा अन्य तर्फ लक्ष्यभन्दा ४४८ प्रतिशत धेरै राजश्व संकलन भएको हो ।

- ८५ बाट ९५ प्रतिशतको सुधार
समग्र तथ्यांकलाई दुई वर्षको सुरुवात र अन्त्यसँग जोडेर हेर्दा पोखरा आन्तरिक राजस्व कार्यालयको राजस्व संकलनमा सुधारको संकेत देखिन्छ। गत आवमा वार्षिक लक्ष्यको ८५ प्रतिशत राजस्व उठेको अवस्थामा चालु आवको पहिलो महिनामै मासिक लक्ष्यको ९५ प्रतिशत हासिल हुनु सकारात्मक सुरुवात हो ।
तर साउनको उपलब्धि मात्रैका आधारमा वार्षिक लक्ष्य पूरा हुने निष्कर्ष निकाल्न भने हतार हुनेछ । गत वर्षको उपलब्धिलाई समेत उछिनेर चालु आवको ८ अर्ब ५४ करोडभन्दा बढीको लक्ष्य पूरा गर्न आगामी महिनामा पनि यही गति कायम राख्नुपर्ने चुनौती कार्यालयसामु छ । राजश्वको लक्ष्य चुनौतीपूर्ण भएपनि पहिलो महिनाले देखाएको उत्साहले लक्ष्य भेट्न कठिन नहुने कार्यलय प्रमुख ढुंगानाको विश्लेषण छ । करदाता शिक्षा बृद्धि, नियमित जस्तो भइरहेको अनुगमन र ताकेताले राजश्वको लक्ष्य भेटिनेमा आफू ढुक्क रहेको उनको भनाई छ ।
- चालु आर्थिक वर्षको लक्ष्य ८ अर्ब ५४ करोड ८८ लाख रुपैयाँ
चालु आर्थिक वर्षमा कार्यालयले ८ अर्ब ५४ करोड ८७ लाख ८६ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । पहिलो महिनाको उपलब्धिलाई निरन्तरता दिन सके वार्षिक लक्ष्य हासिल गर्ने आधार बलियो बन्ने देखिएको छ । यद्यपी भोटेकोशी बाढीको असर र राष्ट्रिय राजनीतिसहित अन्य अवस्था समेतले राजश्व संकलनमा प्रत्यक्ष अप्रत्यक्ष प्रभाव पार्नेछ ।
आन्तरिक राजस्व कार्यालय पोखराले गत आर्थिक वर्षमा राजस्व संकलनको लक्ष्यको करिब ८५ प्रतिशत पूरा गरेको थियो । गत आर्थिक वर्षमा ८ अर्ब ६५ करोड १५ लाख १४ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखिएकोमा त्यसको १५ प्रतिशत कम अर्थात ७ अर्ब ३५ करोड १५ लाख १४ हजार रुपैयाँ राजश्व संकलन भएको हो ।
गत आर्थिक वर्षको समग्र अवस्थालाई हेर्दा कार्यालयले लक्ष्यको ८५ प्रतिशत मात्र राजश्व संकलन गर्न सकेको भएपनि यो समग्रमा उत्साहजन नै रहेको छ । गत वर्ष २३ र २४ भदौको जेनजी आन्दोलन र त्यस आन्दोलनका क्रममा व्यवसायिक प्रतिष्ठानहरुले बेहोरेको क्षति हेर्दा पोखराको समग्र राजश्व संकलनलाई राम्रो मान्नु पर्ने हुन्छ । लक्ष्य नभेटिएपनि देशभरका राजश्व कार्यालयहरुसंग पोखराको राजश्व संकलन तुलनात्मक रुपमा राम्रो रहेको आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख ढुंगाना बताउँछन् ।












