पोखरा ।
पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा गौतम निर्वाचित भएकी छन् । सोमबार सम्पन्न पोखरा उद्योग वाणिज्य संघको ३६ औं महाधिवेशनबाट उनी ७५१ मत ल्याएर विजयी भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी आर्जुन पोखरेलले ६३७ ल्याए । अध्यक्ष पदका अर्का प्रतिस्पर्धी उत्तममान बुद्धाचार्यले ६०१ र बलराम आचार्यले २५३ मत ल्याए ।
संघको वरिष्ठ उपाध्यक्षमा दिनेशचन्द्र बास्तोला विजयी भए ।उनले १४ सय ८१ मत ल्याउँदा उनका प्रतिस्पर्धी टिकाराम सुवेदीले ७६० मत ल्याए । उपाध्यक्ष (उद्योग) तर्फ सौगात थापा निर्वाचित भए । उनले १२ सय ७१ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी ललित बहादुर कुँबरले ९७३ मत ल्याए ।
उपाध्यक्ष (वाणिज्य) तर्फ मनोज कुमार श्रेष्ठ निर्वाचित भए । उनले एक हजार ६५ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी भीम गौतमले ९१९ मत ल्याए । संघको महासचिवमा सुदिपप्रधानंग निर्वाचित भए । प्रधानंगले १२ सय २ मत प्राप्त गरेर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी तारानाथ ढुंगानाले एक हजार ४२ मत प्राप्त गरे ।
उपमहासचिवमा प्रदीप राजभण्डारी निर्वाचित भए । उनले ११ सय ५३ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी यादवप्रसाद पोखरेलले ६५८ मत प्राप्त गरे । अर्का प्रतिस्पर्धी रमचन्द्र तिमिल्सिनाले ४३३ मत प्राप्त गरे ।
कोषाध्यक्षमा देवेन्द्र प्रजु निर्वाचित भए । उनले १४ सय ३९ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी जीवनप्रकाश श्रेष्ठले ७७५ मत प्राप्त गरे ।
कार्यसमिति सदस्यमा क्रमस दुर्गा बराल (१७४८), अमृत पोखरेल (१७३१), निर्मला चापागाईं(१५८०), गोविन्द बहादुर केसी (१४८७), रमेश्वर अधिकारी (१४७७), मनोहरी पौडेल(१४७६), भानुभक्त अधिकारी (१४५२), दिलीप कुमार श्रेष्ठ (१४४७), रामप्रसाद कँडेल (१४३५) र कमल प्रसाद सुनार (१४२४) निर्वाचित भए । कार्यसमिति सदस्य पदका प्रतिस्पर्धी नविन नापितले १३४३, हरिप्रसाद अधिकारीले १३०३ र सूर्यराज घिमिरेले १३०३ मत ल्याए ।
बस्तुगत तर्फबाट यस अगाडि नै केशव ढकाल, मुक्ती प्रसाद पनेरु, लक्ष्मी प्रसाद अधिकारी र लालप्रसाद ढकाल यस अगाडि नै निर्वाचित भइसकेका छन् ।

७२ वर्ष लामो इतिहास रहेको पोखरा उद्योग वाणिज्य संघमा पहिलो महिला नेतृत्व
शोभा गौतम अध्यक्षमा निर्वाचित भएसंगै पोखराको आग्रणी संस्थाको रुपमा रहेको पोखरा उद्योग वाणिज्य संघले आफ्नो ७२ वर्ष लामो इतिहासमा पहिलोपटक महिलाको नेतृत्व पाएको छ ।
यसअघि विन्दु कोइराला र हीरा भट्टराईले अध्यक्षका लागि प्रयास गरे पनि उनीहरू सफल हुन सकेका थिएनन् । वर्तमान महासचिवको जिम्मेवारी सम्हालिरहेकी गौतमले अब संघको बागडोर सम्हालेकी छन् ।

नवनिर्वाचित अध्यक्ष गौतमको व्यावसायिक यात्रा २६ वर्षअघि एउटा सानो चिया पसलबाट सुरु भएको थियो । उनले उद्योग वाणिज्य संघकै कार्यालय अगाडि चिया पसल चलाएर व्यवसायको जग बसालेकी थिइन् । त्यही समयमा उनले व्यवसायीका समस्या र बजारको मनोविज्ञानलाई नजिकबाट बुझ्ने मौका पाइन् । पछि उनले महेन्द्रपुलमा ‘पुष्पाञ्जली ब्युटी पार्लर’ सुरु गरेर आफूलाई स्थापित गराइन् ।
त्यो बेला पार्लर व्यवसायलाई हेर्ने सामाजिक दृष्टिकोण सहज नभए पनि उनले त्यसलाई चुनौतीका रुपमा स्वीकार गरिन् । अहिले उनी सुप्रिम सप्लायर्समार्फत लुब्रिकेन्ट, फेसन, इभेन्ट, रेस्टुरेन्ट, कृषि र ग्रोसरी जस्ता विविध क्षेत्रमा सक्रिय छिन् । संघमा उनको प्रवेश विसं २०७३ सालमा साधारण सदस्यका रुपमा भएको थियो । तत्कालीन अध्यक्ष पवनकुमार प्रजापतिको प्रेरणाले उनी संस्थामा जोडिएकी थिइन् ।
गौतम कार्यसमिति सदस्य हुँदै उपमहासचिव र महासचिवको जिम्मेवारीमा रहेर आफ्नो कार्यक्षमता प्रमाणित गरिसकेकी छन् । संघबाहेक उनले मानव सेवा आश्रम, लायन्स क्लब र अन्य सामाजिक संस्थाहरूमा समेत आफ्नो दरिलो उपस्थिति जनाएकी छन् । पदलाई अधिकारभन्दा पनि सेवाको अवसरका रुपमा लिने उनको कार्यशैलीले नै उनलाई आज अध्यक्षको पदसम्म पुर्याएको हो ।
यस पटकको महाधिवेशनका लागि गौतमले ‘सुदृढ संघ, सक्षम नेतृत्व’ को नारासहित १४ बुँदे प्रतिबद्धता सार्वजनिक गरेकी छन् । उनको मुख्य प्राथमिकता संघलाई सबै उद्योगी व्यवसायीको साझा घरका रुपमा स्थापित गर्नु हो । उनले कृषि र पर्यटन प्रवर्धन, युवा उद्यमशीलता विकास र महिला उद्यमीहरूको सशक्तीकरणलाई आफ्नो एजेन्डाको अग्रभागमा राखेकी छन् ।
वित्तीय साक्षरता, सीप विकास र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनका लागि उनले पहल गर्ने बताएकी छन् । न्यु रोडको पार्किङ समस्या समाधान जस्ता ठोस योजनाहरू पनि उनले अघि सारेकी छन् । ‘मेड इन पोखरा’ अभियानलाई विस्तार गर्दै स्थानीय उत्पादनलाई बजारसम्म जोड्ने र व्यवसायीमैत्री नीति निर्माणका लागि पैरवी गर्ने उनको संकल्प छ ।
गौतम आफूलाई आश्वासन दिने भन्दा पनि परिणाम निकाल्ने नेतृत्वका रुपमा प्रस्तुत गर्छिन् । विगतमा उनले जिआईजेडको वित्तीय साक्षरता कार्यक्रम र छेन्दु–पोखरा उडान समन्वयको जिम्मेवारी सफलतापूर्वक सम्हालेकी थिइन् । ‘तपाईंहरूको विश्वास मेरो जिम्मेवारी हो,’ उनले भनिन् । गौतमको नेतृत्वले पोखराको उद्योग–वाणिज्य क्षेत्रमा नयाँ र सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।












