काठमाडौं।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल लगायतका मुलुकहरूको जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग माग गरेका छन् ।राष्ट्रपति पौडेलले सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै विश्वव्यापी तापमानका कारण जोखिम उत्पन्न भइरहेको उल्लेख गरेका छन् ।
‘यस विपत्तिले न केवल हाम्रो हिमाली पर्यावरणको असाधारण नाजुक अवस्था मात्र दर्शाउँदैन यसले निरन्तर बढ्दै गएको विश्वव्यापी तापक्रम र त्यसबाट उत्पन्न हुन गएको जोखिमप्रति हामीलाई पुनः गम्भीर रूपमा सचेत पनि गराएको छ’ राष्ट्रपतिको सम्बोधनमा छ,’ म अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपाललगायत पारिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न मात्र होइन’ उनीहरूका लागि जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न हार्दिक आह्वान गर्दछु ।’
यस्तै राष्ट्रपति पौडेलले गत भदौ १० गतेको विनाशकारी बाढी र पहिरोपछि उत्पन्न कठिन परिस्थितिमा सम्पूर्ण राजनीतिक दल र नागरिकहरूलाई एकताबद्ध हुन आह्वान गरेका छन् ।
राष्ट्रपति पौडेलले यो समय दोषारोपण वा राजनीतिक विवादमा अल्झिने नभई राष्ट्रिय एकता र ऐक्यबद्धता प्रदर्शन गर्ने समय भएको बताए ।
पौडेलले हिमनदीको बरफ र चट्टानसहितको हिमपहिरोका कारण आएको बाढीलाई कहालीलाग्दो प्राकृतिक प्रकोपको संज्ञा दिए ।
यस विपत्तिले असङ्ख्य मानव जीवन, घरपरिवार, सडक, पुल र जलविद्युत् आयोजनालगायत राष्ट्रका महत्त्वपूर्ण पूर्वाधारमा अकल्पनीय क्षति पुर्याएकोमा उनले गहिरो शोक व्यक्त गरे । मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरे ।
आफ्नो ज्यानको प्रवाह नगरी उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको साहसको प्रशंसा गर्दै राष्ट्रपतिले उनीहरूको सेवाभावले नेपालको उत्कृष्ट मानवीय चरित्र झल्काएको बताए ।
कठिन भौगोलिक अवस्थाका बाबजुद बेपत्ता नागरिकहरूको खोजी र उद्धार कार्यलाई निरन्तरता दिन उनले सरकारको ध्यानाकर्षण गराए ।
विपत्तिमा परी ज्यान गुमाउने विदेशी नागरिकहरूप्रति पनि राष्ट्रपतिले शोक व्यक्त गरे । नेपालले आफ्नो भूमिमा रहेका हरेक व्यक्तिलाई परिवारकै सदस्य मान्ने उल्लेख गर्दै उनले प्रभावित देशका सरकार र कूटनीतिक नियोगहरूसँग सहकार्य गर्ने बताए । साथै, छिमेकी मित्रराष्ट्रहरू र अन्तर्राष्ट्रिय समुदायले खोज, उद्धार र प्राविधिक सहयोग उपलब्ध गराएकोमा उनले हार्दिक कृतज्ञता व्यक्त गरे ।
राष्ट्रपति पौडेलले विस्थापित नागरिकका लागि खाद्यान्न, स्वच्छ खानेपानी, औषधोपचार र सुरक्षित आश्रयस्थल सुनिश्चित गर्न सरकारलाई आग्रह गरे । बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र गर्भवती महिलाहरूको संरक्षणमा विशेष ध्यान दिन उनले जोड दिए । मृतकहरूको पहिचानका लागि डीएनए नमुना सङ्कलन लगायतका वैज्ञानिक पद्धति अपनाउन समेत उनले सुझाव दिए।












