रसुवा बाढी : ज्यान गुमाउनेको संख्या १ हजार ३ सय ५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता

केन्द्रभाग मिडिया

काठमाडौं ।

रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार ३ सय ५५ पुगेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार फेला परेका शवमध्ये कतिपय मानव अंगहरु मात्र छन् । हालसम्म ९८ जनाको मात्र सनाखत गरी शव आफन्तलाई बुझाइएको छ ।

बाढीले पुर्‍याएको मानवीय क्षतिको विवरण जिल्ला अनुसार फरक छ । प्राधिकरणकी प्रवक्ता शान्ति महतले दिएको जानकारी अनुसार चितवनमा सबैभन्दा धेरै ३ सय ६३ वटा शव फेला परेका छन् ।

यस्तै नवलपरासी पूर्वमा २ सय २२, नवलपरासी पश्चिममा २ सय २१ र नुवाकोटमा १ सय ९७ शव भेटिएका छन् । रसुवामा १ सय ६९, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव प्राप्त भएको छ ।

बाढीमा परी ठूलो संख्यामा मानिसहरु सम्पर्कविहीन भएका छन् । प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार ४ हजार ९ सय ९६ जना अझै हराइरहेका छन् । ‘नुवाकोटबाट २ हजार ३ सय ४० र रसुवा जिल्ला प्रशासन कार्यालयको विवरण अनुसार १ हजार ९ सय ६७ नेपाली सम्पर्कविहीन छन्’ प्रवक्ता महतले भनिन् । हराइरहेकाहरुमा ५ सय ८९ विदेशी नागरिक र करिब १ सय जना सुरक्षाकर्मी तथा कर्मचारी समेत छन् ।

विपद्का बीच उद्धार कार्यलाई पनि तीव्रता दिइएको छ । हालसम्म १३ हजार ३ सय ९६ जनालाई बाढीबाट जीवितै उद्धार गरिएको छ । घाइते भएका ६ हजार ६ सय ७२ जनाको उपचार गरिएको छ ।

विभिन्न अस्पतालमा भर्ना भएका ३ सय २३ जनामध्ये २ सय २८ जना निको भएर घर फर्किएका छन् । प्रभावित क्षेत्रका ३९ वटा होल्डिङ सेन्टरमा अहिले ३ हजार ५ सय ३३ जनाले आश्रय लिइरहेका छन् । जसमा नुवाकोटका २ हजार ६ सय ५१, रसुवाका ६ सय ६९ र धादिङका २ सय १३ जना छन् ।

बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत वितरणका लागि २१ हजार ४ सय २ सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमा नेपाली सेनाका ९ हजार २ सय ८७ जना छन् । यस्तै नेपाल प्रहरीका ७ हजार ९ सय १२ र सशस्त्र प्रहरी बलका ४ हजार २ सय ३ जना सुरक्षाकर्मी कार्यक्षेत्रमा खटिएका छन् । उनीहरुले अहिले पनि बेपत्ताको खोजी र सुरक्षा व्यवस्थापनको काम गरिरहेका छन् । रासस

  • २२ भाद्र २०८३, सोमबार १४:०६ प्रकाशित