काठमाडौं ।
नेपाली कांग्रेसको १५औं महाधिवेशनको वडा अधिवेशन एक साता पर सार्ने तयारी गरिएको छ ।
आज बस्ने कार्यसम्पादन समितिको बैठकमा तल्लो तहका अधिवेशनको मिति सार्न बारेमा छलफल हुने भएको छ ।केन्द्रीय महाधिवेशनको मिति पूर्व घोषित समयमा हुने गरी तल्लो तहका अधिवेशनको कार्यतालिका परिवर्तन लागिएको हो ।
सभापति गगन थापाले आज दिउँसो १ बजेदेखि बस्ने गरी कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।
१५औं महाधिवशेन १६ देखि १९ असोजसम्म गर्ने मिति तय गरिएको छ । आगामी बुधबार वडा अधिवेशन गर्ने गरी यसअघि कार्यतालिका बनाइएको थियो । कार्यसम्पादन समितिका एक सदस्यले वडा अधिवेशन एक साता पर सार्ने जानकारी गराए । यसअघि निर्धारित गरिएको समय तालिका परिवर्तन गर्नुमा चार कारण रहेको उनले बताए ।
बाढी, बाटो, आन्तरिक छलफल र तीजका कारणले वडा अधिवेशन प्रक्रिया एक साता ढिलो गर्न लागेको ती नेताले जानकारी गराए ।
१० भदौमा रसुवाको भोटेकशीमा आएको विनाशकारी बाढीमा पार्टी पंक्ति परिचालित हुने निर्णय कांग्रेसले गरेको थियो । रसुवा बाढी र त्यसपछि आएको वर्षाले ठाउँ ठाउँका सडकमार्ग अवरुद्ध भएका छन् । पार्टीभित्र सहमति गरी महाधिवेशन गर्नका लागि यही बीचमा आन्तरिक छलफलहरू पनि भइरहेको नेताहरूले जानकारी गराएका छन् ।
पूर्वउपससभापति पूर्णबहादुर खड्का र नेता डा। शेखर कोइरालासँग संस्थापन पक्ष संवादको प्रक्रियामा रहेको जानकारी गराइएको छ ।














