पोखरा
पोखरा–१६ ,अम्बिका टोलस्थित अम्बिका आमा समुहले तीज मनाउने खर्च बाढीपीडितलाई सहयोग गरेको छ ।संस्थाले टोलबाट संकलित १ लाख ८ हजार ८४५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको अध्यक्ष कृष्ण कुमारी खवासले जानकारी दिईन् ।
सो रकम कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ र सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालमार्फत प्रधानमन्त्री राहत तथा उद्धार कोषमा पठाएको हो ।
बाढीपहिरो तथा प्राकृतिक विपत्तिका कारण धेरै परिवार शोक, पीडा र संकटमा रहेका बेला तीजको नाममा अनावश्यक खर्च गर्नुको सट्टा पीडित परिवारको सहयोगमा हातेमालो गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको आमा समुहका अध्यक्ष खवासले बताइन ।
संकलित रकम ग्रहण गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी गुरुङले आमा समुहले गरेको यस्तो कार्य समाजका लागि थप उदारणीय हुने भन्दै समुहको प्रशंसा गरे ।सहायक प्रजिअ चित्राङ्गत बरालले पर्व मनाउने क्रममा हुने अनावश्यक खर्चलाई सामाजिक सेवामा लगाउन सके त्यसले विपद्मा परेका परिवारलाई ठूलो राहत पुग्न सक्ने बताए ।













