त्रिशूली ‘ए’को सुरुङबाट उद्धार गरिएका दुई मध्ये एकको अवस्था जटिल, अर्काको सामान्य

केन्द्रभाग मिडिया

काठमाडौं।

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका दुईमध्ये एक जनाको अवस्था सामान्य रहेको छ । अर्का एक व्यक्तिको भने अवस्था जटिल रहेको छ ।

दोस्रो पटक उद्धार गरिएका कबीर महर्जनको अवस्था जटिल रहेको बताइएको छ । उनको स्वास्थ्य अवस्था जटिल रहेको नेपाली सेनाले जनाएको छ । महर्जनलाई नेपाली सेनाको हेलिकोप्टरबाट छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरी सघन उपचार भइरहेको छ ।

यस्तै, सुरुमा उद्धार गरिएका सञ्जय साहको अवस्था भने सामान्य रहेको छ । स्वास्थ्य अवस्था स्थिर देखिएता पनि थप परीक्षणका लागि उनलाई पनि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमै लगिदै छ ।

नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य विज्ञहरूको संयुक्त टोलीले शुक्रबार बाढी गएको १० दिनपछि दुवै जनालाई उद्धार गरिएको हो ।

  • १९ भाद्र २०८३, शुक्रबार ११:५५ प्रकाशित