काठमाडौं ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले रसुवा र नुवाकोट जिल्ला भई बहने नदीहरूमा आकस्मिक बाढीको उच्च सम्भावना रहेको जनाएको छ।
महाशाखाले शुक्रबार बिहान जारी गरेको बुलेटिनअनुसार यी दुई जिल्लाका भोटेकोशी, त्रिशुली तथा अन्य स-साना नदीमा पानीको बहाव उल्लेख्य बढ्नेछ। यस क्षेत्रका तटीय बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।
गत १० भदौमा रसुवाको भोटेकोशीमा बाढी आएको थियो । त्यसयता भोटेकोशी र त्रिशुली नदीको बहाव सतर्कता तहभन्दा तलै झरेको महाशाखाको तथ्याङ्कले देखाउँछ। यद्यपि जोखिम पूर्ण रूपमा टरिनसकेको अवस्था छ । महाशाखाले जारी गरेको सूचनामा ‘बहाव सतर्कता तहभन्दा तल रहेता पनि उच्च सतर्कता अपनाउनु पर्ने देखिन्छ’ भनिएको छ ।
देशका अन्य प्रमुख नदीहरू कोशी, नारायणी, बागमती, कर्णाली र महाकालीको बहाव आज बिहानको मापनअनुसार सतर्कता तहभन्दा तलै छ । कन्काई, कमला, बबई तथा पूर्वी र पश्चिम राप्ती नदीको अवस्था पनि सामान्य नै छ ।
तर आगामी तीन दिन यी सबै प्रमुख नदीहरू र तिनका सहायक नदीहरूमा पानीको सतह उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ । विशेषगरी नारायणी नदीको देवघाट, त्रिशुलीको बेत्रावती, कर्णालीको असाराघाट र महाकालीको पारिगाउँ जलमापन केन्द्रमा बहाव निरन्तर बढ्ने महाशाखाले स्पष्ट पारेको छ ।













