फागुन पहिलो साता नयाँ पार्टी घोषणा गर्दै कमल थापा

केन्द्रभाग मिडिया

काठमाडौं ।

राप्रपा त्यागेका कमल थापाले तुरुन्तै नयाँ पार्टी घोषणा गर्ने भएका छन् । उनले फागुन पहिलो सातामै नयाँ पार्टी खोल्ने उनी निकट स्रोतले बताएको छ । उनले खोल्न लागेको पार्टीमा अब राजसंस्थाको एजेण्डा नहुने बताइएको । उनले अब हिन्दुराष्ट्रको एजेन्डा मात्र अघि बढाउने भएका छन् ।

निकटकाहरुसँग नयाँ पार्टीको उद्देश्य, संगठनात्मक संरचना, एजेन्डालगायतका विषयमा सामान्य ब्रिफिङ गरेका थापाले त्यसका लागि आवश्यक दस्ताबेजलाई पनि अन्तिम रुप दिन थालेका छन् । स्रोतका अनुसार थापाले फागुन पहिलो साताभित्र नै नयाँ पार्टीको घोषणा गर्ने छन् । यससँगै थापाले पार्टी एकताका क्रममा खाएको हिन्दूहरूको पवित्र ग्रन्थ गीताको कसम पनि तोडिने भएको छ ।

थापाले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगसँग सामान्य परामर्श गरिसकेका छन् । बुधबारदेखि आफ्नो समूहभित्र थप छलफल गरी पार्टीलाई मूर्तरूप दिने तयारी छ ।

त्यसका लागि उनी निकट केही नेताहरुले छिट्टै पार्टी परित्यागको घोषणा गरेर थापाको अभियानमा होमिएको घोषणा गर्नेछन् । तर, थापा निकटकै कतिपय पदाधिकारी र केन्द्रीय सदस्यले भने उनलाई साथ नदिने छनक दिइसकेका छन् । उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री भुवन पाठक लगायतले थापालाई साथ नदिने बताएका हुन् ।

  • २६ माघ २०७८, बुधबार १०:०८ प्रकाशित