पोखरा ।
पोखराको लेकसाइडमा रहेको सुलभ उपभोक्ता सहकारी संस्था लिमिटेड पोखराले रसुवा बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
सहकारीले प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायत जिल्लामा मानवीय तथा भौतिक क्षति भएको र नागरिकको दैनिक जीवनसमेत प्रभावित बनेको अवस्थामा राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरेको सहकारीका अध्यक्ष गोपी बहादुर भट्टराईले जानकारी दिए ।
सहकारीका अनुसार विपद्का कारण प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै खोजी तथा उद्धार र पुनःस्थापनाका काममा समेत सहयोग आवश्यक देखिएकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरिएको हो ।
‘भोटेकोशी नदीमा आएको बाढीले रसुवालगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ । बाढीपहिरोका कारण सडक, पुल, घर तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ भने कतिपय नागरिक विस्थापित भएका छन् । यस्तो अवस्थामा सहकारीको तर्फबाट समाजिक उत्तरदायित्व बहन गर्न र पीडामा परेकाहरुमा केही भएपनि मल्हम लगाउन सकियो भनेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका हौं । यस्तो अवस्थामा सबैले हातेमाले गर्नुपर्छ। ’ अध्यक्ष भट्राईले भने ।
विपद्को समयमा राज्यका निकायसँगै निजी क्षेत्र, सहकारी तथा सामाजिक संघसंस्थाले समेत सहयोग गर्नुपर्ने आवश्यकता रहेको सहकारीका प्रबन्ध निर्देशक लक्ष्मण बरालले जानकारी दिए । संकटमा परेका नागरिकलाई राहत र पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले गरिएको आर्थिक सहयोगले मानवीय सेवामा योगदान पुग्ने उनको भनाई छ ।












