काठमाडौं ।
भोटेकोशीको बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढ्दा पृथ्वीराजमार्गको कृष्णभिर क्षेत्रमा सडकको तल्लो भाग कटान भई राजमार्ग अवरुद्ध भएको छ।
सडक विभागले प्राविधिक तथा भौगर्भिक विज्ञको टोली परिचालन गरेर १५ दिनभित्र सडक सञ्चालनमा ल्याउने तयारी गरेको हो।
स्थलगत अनुगमनपछि सडक विभागका सहसचिव चुणाराज ढकालले बाढीले सडकको तल्लो भाग कटान गरेको र माथिल्लो भागमा चिरा परेकाले पहिरो खसेको जानकारी दिए। यो राजमार्ग देशको लाइफलाइन भएकाले उच्च प्राथमिकता दिएर काम अघि बढाइने उनले बताए।
विज्ञको प्राविधिक राय लिएर सम्भव भएसम्म १० देखि १५ दिनमा राजमार्ग खुलाउने र हाललाई वैकल्पिक रुट तथा स्थानीय सडक प्रयोग गरेर यातायात चलाउने तयारी भएको उनले स्पष्ट पारे।
आगामी दिनमा नदी करिडोरका राजमार्गलाई थप दिगो र विपद्–प्रतिरोधी बनाउन सडकको उचाइ बढाउने, वैकल्पिक लिंक रुट विकास गर्ने, अग्ला पुल तथा साना सुरुङ निर्माण गर्ने नीति आवश्यक रहेको उनको भनाइ छ।
सुरुवाती लागत बढे पनि दीर्घकालीन रूपमा टिकाउ हुने प्रविधिमा आधारित राजमार्ग निर्माणलाई प्राथमिकता दिनुपर्ने आवश्यकता उनले औँल्याए।
सडक विभागका भू–प्राविधिक विज्ञ मधुसुदन आचार्यले कृष्णभिरको पहिरो पुरानै स्लोप फेलियर क्षेत्रमा दोहोरिएको बताए। माथिल्लो भागको जोखिमयुक्त माटो र संरचना हटाएर सिंगल लेन डाइभर्सन बनाउन सकिने सम्भावना रहेको उनले बताए।
सडक माथिबाट कटिङ गर्दा स्लोपलाई चरणबद्ध रूपमा निलिङ गर्दै लैजानुपर्ने र तल्लो भागमा नदी कटान हाललाई रोकिएको अध्ययनले देखाएको छ। ड्रोन तस्बिरमा नदीको तल्लो भागमा बेडरक भेटिएको हुन सक्ने देखिएकाले माथिबाट डाइभर्सन निर्माण गरेर सडक खोल्ने योजना छ।
नदीको कटान नियन्त्रण गर्न जिओब्याग, ग्याभिन नेट तथा बोल्डरलाई नेटले र्याप गरेर तल्लो भाग संरक्षण गर्ने प्रविधि प्रयोग गर्न सकिने आचार्यले बताए।
पहिरो पन्छाएर र सडकको भित्तो कटिङ गरी हाललाई माथिल्लो भागबाट सिंगल लेनको बाटो सञ्चालन गर्न सकिने उनले बताए।












