पोखरा ।
रेस्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराले हरेक दुई वर्षको अन्तरालमा आयोजना गर्दै आएको निःशुल्क स्वास्थ्य शिविर यसपटक पोखरा–२३ ठूलाखेतस्थित सिद्ध बराह उच्च माविको प्राङ्गणमा सम्पन्न भएको छ । नेपाली सेना पश्चिम पृतना हेडक्वाटर पोखरा तथा सैनिक अस्पताल पोखराको प्राविधिक सहयोगमा आइतबार सम्पन्न उक्त स्वास्थ्य शिविरमा ७ सय ५० जनाभन्दा बढीले स्वास्थ्य परीक्षण गरेका छन् ।
शिविरमा प्रसुती तथा स्त्री रोगि, फिजिसियन, अर्थोपेडिक, छाला रोग, नाक, कान, घाँटी, प्रयोगशाला, ई.सि.जी., भिडियो एक्स–रे लगायतका सेवाहरु प्रदान गरिएको थियो । शिविर सफल पार्न पोखरा महानगरपालिका वडा नम्बर २३ कार्यालय, सिद्ध बराह उमावि, क्लिनिक नेपाल, रेनाभा हस्पिटल लेकसाइड, युनाइटेड रेफेरेन्स ल्याब्रोटोरी (युआरएल) तथा भरतपुर महानगरपालिका २७, मेघौलीबाट सहयोग प्राप्त भएको रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले जानकारी दिए । सो अवसरमा सहयोगी संस्थाहरुलाई सम्मान–पत्रद्वारा सम्मान गरिएको थियो ।
रेबानका पूर्वअध्यक्ष गोपीबहादुर भट्टराईले वडा, नेपाली सेना र रेवानको सहकार्यमा उत्कृष्ठ काम भएको धारणा राखे । उनले कार्यक्रममा स्थानीयको उपस्थितिले आफूहरु उत्साहित भएको बताए ।
कार्यक्रमका संयोजक एवं रेवान पोखराका सचिव भिष्मराज पौडेलले रेवानले विभिन्न विधामा हेल्थ क्यमम्प सञ्चालन गरिएको जानकारी दिए । रेनोभो अस्पताल लेकसाइडका अध्यक्ष डार्विन लामिछानेले हेल्थ क्याम्पमा आफूहरुले दिएको सबै सेवा र यसको प्रभावकारिताको बारेमा बताए । आफूहरुकै गाउँठाउँमा यसरी शिविर सञ्चालन गरेकामा स्थानीय बृद्धबृद्धा खुशी देखिन्थे । उनीहरुले यस्तो सेवा प्रवाह भएकामा रेवान र सहयोगी सबै प्रति आभार समेत प्रकट गरेका छन् ।












