त्रिवि शिक्षण अस्पतालले भन्यो : ‘अब १० वटा मात्रै शव अट्छ’

केन्द्रभाग मिडिया

काठमाडौं।

काठमाडौँको महाराजगञ्जस्थित त्रिभुवन विश्वविश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालको शवगृह भरिँदै गएको छ ।

त्रिवि शिक्षण अस्पतालका अनुसार हालसम्म रसुवा बाढीबाट भेटिएका ६० वटा शव ल्याइएका छन् । प्राप्त शवमध्ये अहिलेसम्म ८ वटाको पहिचान भइसकेको अस्पतालले जनाएको छ ।

अस्पतालले अब बढीमा १० वटा शव राख्न सकिने स्पष्ट पारेको छ । बाढीमा ज्यान गुमाएर ल्याइएका शवहरू अधिकांश कुहिएको र क्षतविक्षत भएको अवस्थामा अस्पताल आइपुगेका छन् ।

‘हाम्रो क्षमता १५० हो । ८० वटा पहिलादेखि नै थियो । पहिचान खुल्न नसकेका शवहरू थिए,’  त्रिवि शिक्षण अस्पतालका फोरेन्सिक विज्ञ डा. गोपाल चौधरीले भने, ‘हामीले अब राख्नसक्ने ७० वटा हो ।’

अब १० वटा बढी शवहरू आएको खण्डमा यहाँको क्षमता भरिने उनले जानकारी गराए ।डा. चौधरीले अस्थायी शव भण्डारणको प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई सुझाव दिएका छन् ।

‘अस्थायी शव भण्डारणका लागि प्रक्रिया गरेर ठाउँ पहिचान गर्नुपर्छ । त्यसका लागि सरकारी तहबाट काम हुनुपर्ने देखिन्छ,’ उनले भने ।

बाढीमा ज्यान गुमाएर ल्याइएका शवहरू अधिकांश कुहिएको र क्षतविक्षत भएको अवस्थामा आइपुगेको पनि उनले बताए ।त्यस्ता शवहरूलाई फ्रिज गरेर राख्दा पनि पहिचानमा समस्या नै हुने उनले बताए ।

‘शवलाई राखेर पनि काम छैन । त्यसका लागि उपयुक्त उपाय भनेकै गाड्नु हो । कुहिएको शवलाई फ्रिजमा राखेर पनि काम छैन,’ उनले भने, ‘अहिले आएका शव क्षतविक्षत छन् । प्रायस् चिन्नका लागि सकिने शव छैनन् ।’

  • १४ भाद्र २०८३, आईतवार १७:०३ प्रकाशित