भलले बगाएर उद्धार गरिएका आमा-छोरीको उपचारको क्रममा ज्यान गुम्यो

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरामा भलले बगाएर उद्धार गरिएका आमा-छारीको उपचारको क्रममा ज्यान गुमेको छ । ज्यान गुमाउनेमा पोखरा महानगरपालिका–३० ढुंगेपाटन बस्ने २६ वर्षीया सुष्मा दाहाल र उनकी दुई वर्षीया छोरी रानीका दाहाल रहेका छन् ।

जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र कास्कीका अनुसार शुक्रबार दिउँसो करिब ४ बजे सुष्मा ग १३ प २८५९ नम्बरको स्कुटरमा बिरौटाबाट पृथ्वीचोकतर्फ आउँदै थिइन् ।

पोखरा महानगरपालिका–१७ हर्क चोकमा स्कुटर साइड लगाएर झरीमा हिँड्ने क्रममा सडक नालीबाट आएको पानीको भलले सुष्मा र उनकी छोरीलाई बगाएको थियो ।

घटनाको सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीको कमाण्डमा २१ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो । स्थानीयवासीको सहयोगमा दुवै जनालाई ४ बजेर २३ मिनेटमा पोखरा–१७ बिरौटास्थित नहर कुलोबाट उद्धार गरिएको प्रहरीले जनाएको छ।

उद्धारपछि उनीहरूलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएकोमा उपचारका क्रममा सुष्माको सोही दिन राति ९ बजेर ४० मिनेटमा ज्यान गुमेको हो।
उनकी दुई वर्षीया छोरी रानीका दाहालको भने आज (शनिबार) विहान १ बजेर २१ मिनेटमा उपचारका क्रममा ज्यान गुमेको प्रहरीले जनाएको छ । दुवैको शव गण्डकी मेडिकल कलेजमै राखिएको छ ।

  • १३ भाद्र २०८३, शनिबार ०८:५८ प्रकाशित