काठमाडौं ।
आध्यात्मिक गुरु सद्गुरु जग्गी वासुदेव समूहका ८० जना विदेशी तीर्थयात्री सम्पर्कविहीन भएका छन् ।
एक भिडियो सन्देशमा सद्गुरुले दिएको जानकारी अनुसार, सम्पर्कविहीन हुनेमा अमेरिका, क्यानडा, अस्ट्रेलिया, बेलायत, जर्मनी, फ्रान्स, नेपालसहित विभिन्न २० देशका नागरिक छन् । समूहमा ३४ पुरुष र ४६ महिला रहेको उनले बताएका छन् ।
उनका अनुसार समूहमा अमेरिकाका २२, क्यानडाका १२, अस्ट्रेलियाका ११, बेलायतका ९, जर्मनीका ४, फ्रान्सका ३ र नेपालका ३ जना छन् ।
त्यस्तै नेदरल्यान्ड्स, न्युजिल्यान्ड, सिंगापुर र स्पेनका २–२ तथा फिनल्यान्ड, हंगेरी, इजरायल, लिथुआनिया, फिलिपिन्स, पोर्चुगल, रुस र दक्षिण अफ्रिकाका एक–एक जना रहेको उनले जानकारी दिएका छन् ।
सद्गुरुका अनुसार समूहका सदस्यहरू तिब्बतको सागामा भेटिएका थिए । उनीहरू सीमा क्षेत्रतर्फ जाँदै गर्दा आफूहरूले बाटोमै भेटेको र पछि उनीहरू नेपालतर्फ फर्किरहेका बेला पनि भेट भएको उनले बताएका छन् ।
उनका अनुसार समूहका नेता ईशा अंगा प्रविणले बिहान ९ बजेर ५ मिनेटमा आफूहरू अध्यागमन कार्यालय पुगेको जानकारी गराएका थिए । त्यसको करिब नौ मिनेटपछि, अर्थात् ९ बजेर १४ मिनेटतिर, सीमाक्षेत्रमा भीषण बाढी आएको थियो ।












