काठमाडौं ।
नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले रसुवामा आएको भीषण बाढी र पहिरो नेपालतर्फ गएको भूकम्पका कारण सिर्जना भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताएका छन्।
नेपालको सरकारी टेलिभिजन ‘एनटिभी वर्ल्ड’ सँगको अन्तर्वार्तामा राजदूत चाङले उक्त कुरा बताएका हुन् ।नेपालस्थित चिनियाँ दूतावासले सार्वजनिक गरेको विवरणअनुसार, विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाल सरकार तथा नेपाली जनताप्रति चीनले गहिरो समवेदना प्रकट गरेको छ।
राजदूत चाङका अनुसार हालसम्म उपलब्ध प्रारम्भिक जानकारीले विपद्को दिन बिहान नेपालतर्फ भूकम्प गएको देखाएको छ।
भूकम्पका कारण हिमपहिरो र त्यसलगत्तै लेदोसहितको बाढी आएको थियो। यस प्राकृतिक घटनाले केरुङ–रसुवागढी सीमा क्षेत्रको नेपाल र चीन दुवैतर्फ ठूलो मानवीय क्षति पुर्याएको र धेरै मानिसहरू बेपत्ता भएको उनले बताएका छन्।
चिनियाँ राष्ट्रपति सी चिनफिङले यस विपद्लाई उच्च प्राथमिकतामा राख्दै महत्त्वपूर्ण निर्देशन दिएका छन्। राष्ट्रपति सीले बेपत्ताहरूको खोजी र उद्धार, जोखिममा परेकाहरूको सुरक्षित स्थानान्तरण र घाइतेहरूको तत्काल उपचार गरी मानवीय क्षतिलाई सकेसम्म कम गर्न निर्देशन दिएको राजदूतले जानकारी दिए।
विपद्लगत्तै काठमाडौँस्थित चिनियाँ दूतावासले आफ्नो आपत्कालीन संयन्त्र सक्रिय गर्दै स्थलगत उद्धारमा समन्वय गर्न प्रभावित क्षेत्रमा एउटा कार्यदल पठाएको छ।
सीमाको चीनतर्फ पनि ठूलो क्षति भए तापनि चीनले नेपाललाई आपत्कालीन राहत सामग्री र नगद सहयोग उपलब्ध गराउन तत्काल समन्वय सुरु गरिसकेको राजदूत चाङले बताए।












