बाढी प्रभावित क्षेत्रमा चार हजार सुरक्षाकर्मी परिचालित

केन्द्रभाग मिडिया

काठमाडौं ।

रसुवामा आएको बाढीमा परी ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले बिहीबार यसबारे जानकारी दिएको हो।

केन्द्रका प्रमुख फणिन्द्रप्रसाद पौडेलका अनुसार विपद् प्रभावित क्षेत्रमा राहत सामग्री ढुवानी र जनशक्ति परिचालनलाई तीव्र पारिएको छ। बुधबार राति २ बजे नै आठ वटा ट्रकमा राहत सामग्री प्रभावित क्षेत्रतर्फ पठाइसकिएको छ।

सञ्चार सम्पर्क विच्छेद भएकाले हेलिकोप्टरमार्फत ‘डिग्निटरी किट’, आवश्यक स्वास्थ्य उपकरण र सञ्चार उपकरणहरू पठाउने कार्य भइरहेको छ। नेपाली सेनाको एमआई हेलिकोप्टर धुन्चेतर्फ प्रस्थान गर्ने तयारीमा रहेको पौडेलले जानकारी दिएका छन्।

ठूलो मानवीय क्षति भएको यस घडीमा उद्धारका लागि व्यापक जनशक्ति परिचालन गरिएको छ। हालसम्म नेपाली सेनाका दुई हजार ३५५ जना तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहित कुल चार हजारभन्दा बढी सुरक्षाकर्मी उद्धार कार्यमा खटिएका छन्।

उद्धारमा खटिएका सुरक्षाकर्मी नै सम्पर्कविहीन भएपछि कार्यसम्पादनमा चुनौती थपिएको छ। बेपत्ता हुनेमा नेपाली सेनाका ४४, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरी बलका १३ जना छन्। राहत वितरण र सञ्चार सम्पर्क स्थापित गर्न खटिएका जनशक्ति नै सम्पर्कविहीन हुँदा उद्धार कार्यमा कठिनाइ भइरहेको पौडेलले बताएका छन्। अन्य कर्मचारीहरूको विवरण सङ्कलन भइरहेको छ।

नेपाल सरकारले २४ सै घण्टा उद्धार र राहत कार्यलाई प्राथमिकतामा राखेको छ। बुधबार राति ३ बजेसम्म बसेको बैठकले आवश्यक सामग्री र थप जनशक्ति परिचालन गर्ने निर्णय गरेको थियो। हाल त्रिशूली मार्ग हुँदै राहत सामग्री र जनशक्ति पठाउने क्रम जारी छ।

  • ११ भाद्र २०८३, बिहीबार ११:०६ प्रकाशित