काठमाडौं ।
भोटेकोशी र त्रिशूली आसपास विभिन्न बैंकका शाखामा कार्यरत २६ कर्मचारी सम्पर्कविहीन भएका छन् । तिब्बतबाट आएको बाढीका कारण भोटेकोशी र त्रिशूली आसपास विभिन्न बैंकका ८ शाखामा कार्यरत कर्मचारी सम्पर्कविहीन भएका हुन् ।
नेपाल बैंकर्स एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल शर्माका अनुसार हालसम्म विभिन्न बैंकका ८ शाखामा कार्यरत २६ कर्मचारीसँग सम्पर्क हुन सकेको छैन ।
बैंकका शाखाहरू पूर्णरूपमा क्षतिग्रस्त अवस्थामा रहेको उनले बताए । ‘टिमुरे, स्याफ्रुबेँसी लगायत स्थानका शाखामा क्षति पुगेको छ, सम्पर्क हुन नसकेका कर्मचारी पनि सोही क्षेत्रका छन्,’ उनले भने ।
सोही क्षेत्रका विकास बैंकहरूमा भने कुनै क्षति नभएको डेभलपमेन्ट बैंकर्स एसोसिएसनले जनाएको छ ।












