उदयपुर ।
उदयपुरको बेलका नगरपालिका–५ जहडामा स्कुल बस र अटो एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
सोमबार बिहान पौने १० बजेको समयमा सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को.प्र. ०५–००१ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको को १ ख ३५१६ नम्बरको सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा अटोमा सवार पाँचै जना घाइते भएका थिए । उनीहरूलाई तत्काल उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपा अस्पताल धरान लगिएको थियो।
उपचारका क्रममा बेलका नगरपालिका–५ की करिब ३४ वर्षीया मन्दिरा मगर र अटोमा सवार पहिचान नखुलेकी एक महिलाको ज्यान गएको प्रहरीले जनाएको छ । दुवै जनालाई अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा अटो चालक बेलका नगरपालिका–५ का करिब २८ वर्षीय इन्द्र थापा गम्भीर घाइते भएका छन् ।यस्तै, विराटनगर महानगरपालिका–१२ का १९ वर्षीय अजित गुरुङको अवस्था मध्यम रहेको छ भने बेलका नगरपालिका–५ का १८ वर्षीय रोशन मगर पनि गम्भीर घाइते भएका छन् । उनीहरू तीनै जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले दुर्घटनामा संलग्न बस र बसका चालक बेलका नगरपालिका–५ का करिब ३६ वर्षीय विक्रम थापालाई नियन्त्रणमा लिएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












