यी पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

काठमाडौं ।

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (आइतबार) विहान देशभर साधारणतया बदली रही कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमम्मको वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छ भने हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका तराई भेगका केही स्थानमा तथा मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा मेघगर्जन एवं चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति पनि देशभर साधारणतया बदली रहनेछ । हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा एवं हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी,लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

  • ७ भाद्र २०८३, आईतवार ०८:२१ प्रकाशित