गण्डकीमा एक वर्षमा ४३५ सवारी दुर्घटना, २५२ जनाको ज्यान गुम्यो

गोविन्द सुवेदी

पोखरा ।
गण्डकी प्रदेशमा गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परी २५२ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०८२/८३ मा प्रदेशका विभिन्न जिल्लामा ४ सय ३५ सवारी दुर्घटना हुँदा ३ सय ४७ जना गम्भीर र १ सय ९१ जना सामान्य घाइते भएका छन् ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गण्डकीका प्रमुख, प्रहरी उपरीक्षक गोविन्द राज काफ्लेका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा १ सय ८६ पुरुष, ४५ महिला, १३ बालक र आठ बालिका छन्। गम्भीर घाइते हुनेमा २ सय ३४ पुरुष, ७९ महिला, २० बालक र १४ बालिका छन् ।

दुर्घटनाको संख्या असारमा सबैभन्दा धेरै ५३ पुगेको छ। पुसमा पनि ५३ दुर्घटना भएका छन् । चैतमा ४४, माघमा ४६, जेठमा ४१ र वैशाखमा ४० दुर्घटना भएका छन् ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गण्डकीका प्रमुख, प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले दुर्घटना न्यूनीकरणलाई कार्यालयले प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

उनका अनुसार चालकको लापरबाही, तीव्र गति, ओभरटेकलगायतका विषयमा चालक तथा यात्रुलाई सचेत गराउने कामलाई निरन्तरता दिइएको छ । दुर्घटना न्यूनीकरणका लागि नयाँ चालक, व्यावसायिक चालक, विद्यार्थी तथा सर्वसाधारणसँग अन्तरक्रिया र सचेतनामूलक कक्षा सञ्चालन गरिएको कार्यालयको विवरणमा उल्लेख छ ।

१ लाख ६० हजार सवारीमाथि कारबाही, १४ करोड राजस्व संकलन

ट्राफिक प्रहरीले आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लंघन गर्ने १ लाख ६० हजार ७ सय ९४ सवारी तथा चालकलाई कारबाही गरेको छ । कारबाहीबाट १४ करोड ३ लाख ५७ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

असारमा मात्रै १९ हजार ५ सय ३१ पटक कारबाही गरिएको छ । उक्त महिनामा कारबाहीबाट १ करोड ६५ लाख १३ हजार ५ सय रुपैयाँ राजस्व उठेको छ । जेठमा १८ हजार २ सय ४३ पटक कारबाही हुँदा १ करोड ५४ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

काफ्लेका अनुसार दुर्घटना घटाउन नियम उल्लंघन गर्नेलाई कारबाहीसँगै सडक प्रयोगकर्तालाई जिम्मेवार बनाउने अभियानलाई पनि प्राथमिकता दिइएको छ ।

१२ हजारभन्दा बढीलाई सडक सुरक्षा सचेतना

कार्यालयले दुर्घटना न्यूनीकरणका लागि वर्षभरि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। विद्यार्थीलाई कक्षा, सामुदायिक सेवा, नयाँ चालकलाई प्रशिक्षण, व्यावसायिक चालक तथा सर्वसाधारणसँग अन्तरक्रिया, चालकरयात्रु मैत्री कार्यक्रम, ओभरटेकसम्बन्धी सचेतना तथा पर्चा–पम्पलेट वितरणलगायत कार्यक्रम गरिएको छ । यस्ता कार्यक्रमबाट वर्षभरिमा १२ हजार ५ सय २७ जना सहभागी भएका छन् ।

‘सडक सुरक्षा सबैको साझा जिम्मेवारी हो । ट्राफिक प्रहरीले मात्रै दुर्घटना रोक्न सक्दैन । चालक, यात्रु, पैदलयात्री र सम्बन्धित निकाय सबैले आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्छ,’  उपरीक्षक काफ्लेले भने  ।

  • ६ भाद्र २०८३, शनिबार ०८:४५ प्रकाशित