काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारप्रति सत्तापक्षकै सांसदहरूबाट असन्तुष्टि बढ्न थालेपछि पार्टी सभापति रवि लामिछानेले मन्त्रीहरूसहित सांसदहरूसँग सामूहिक छलफल गरेका छन् । छलफलको क्रममा रविले आफ्ना गुनासो र समस्या बाहिर नपोख्न मन्त्री तथा सांसदहरुलाई निर्देशन दिएका छन् ।
बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा करिब ३ घण्टा चलेको छलफलमा रविको निर्देशन थियो, ‘आफ्ना गुनासो र समस्या संयमित भएर पार्टी तथा संसदीय दलमा मात्र राख्नुस् ।’
सांसद लिमा अधिकारीका अनुसार विषयगत मन्त्रालयका मन्त्रीहरू र सांसदहरूबिच पहिलोपटक यस्तो अनौपचारिक छलफल भएको हो । ‘सबैले आ–आफ्ना समस्या र गुनासा खुलेर राख्नुभयो । सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले उठेका प्रश्नको जवाफ दिनुभयो,’ अधिकारीले भनिन्, ‘मन्त्री र सांसदहरूको कुरा सुनेपछि सभापतिज्यूले कुनै पनि समस्या भए पार्टी नेतृत्व, मन्त्रीहरू र संसदीय दलमा संयमित तथा सन्तुलित ढंगले राख्न आग्रह गर्नुभयो ।’
रविको अर्को निर्देशन थियो – गुनासा र समस्या सुन्नका लागि पार्टीले बनाएको ‘पल्स आरएसपी एप’ २४ घण्टाभित्र डाउनलोड गर्नू ।
सरकार गठन भएको चार महिनामै जनअसन्तुष्टि बढ्न थालेपछि रविले मन्त्री र सांसदहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएका थिए । तर, छलफलमा संसदीय दलका नेता तथा प्रधानमन्त्री बालेन शाह, भौतिक पूर्वाधारमन्त्री सस्मित पोखरेल र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ भने अनुपस्थित थिएनन् । अन्य सबै मन्त्रीहरू सहभागी भएको बताइएको छ ।
छलफलका क्रममा सांसदहरूले विशेषगरी गृह, शिक्षा, कृषि, उद्योग वाणिज्य तथा आपूर्ति र अर्थ मन्त्रालयका कामकारबाहीबारे प्रश्न उठाएका थिए ।











