पोखरा ।
विजयपुर खोलाले बगाएर बेपत्ता भएका दुईमध्ये १ बालकको शव भेटिएको छ ।
पोखरा महानगरपालिका १४ छिनेडाँडा बस्ने १४ वर्षीय निक्सन गुरुङको शव आज मंगलबार दिउँसो भेटिएको प्रहरीले जानकारी दिएको छ । निक्सनको शव घटनास्थलबाट करिब १.५ किलोमिटर तल भेटिएको हो ।
साउन ३० गते विजयपुर खोला तर्ने क्रममा उनलाई भेलले बगाउँदा बेपत्ता भएका थिए । ३ दिनदेखिको निरन्तर खोजीपछि उनको शव भेटिएको हो ।
पोखरा १४ चाउथेस्थित गोरखा भिलेज पछाडिको खोचमा शव देखिएको थियो । भत्किएको पर्खालको रडभित्र शव अड्किएकाले एक्साभेटरको सहायताले बाहिर निकालिएको सशस्त्र प्रहरीले जनाएको छ । मृतकका हजुरबुबा फत्तबहादुर गुरुङले शवको पहिचान गरेका छन् ।
पोखरा २६ सक्नेरीस्थित भगवती हाइड्रोपावर नजिकैबाट खोला तर्ने क्रममा बगाउँदा निक्सनसँगै १५ वर्षीय ओमन राई पनि बेपत्ता भएका थिए । ओमनको खोजी जारी रहेको प्रहरीले बताएको छ ।
बेपत्ताको खोजीमा सशस्त्र प्रहरीको गोताखोरसहितको टोली खटिएको थियो । नम्बर २४ गण कालिका कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक साजन श्रेष्ठको कमाण्डमा ११ जनाको टोली परिचालन भएको थियो ।












