पत्रकार किशोर श्रेष्ठलाई सोमबार सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश

केन्द्रभाग मिडिया

काठमाडौं ।

पत्रकार किशोर श्रेष्ठलाई सोमबार उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

बन्दी प्रत्यक्षीकरणको रिटमा न्यायाधीश बालकृष्ण ढकालको इजलासले बरामद सामग्रीसहित उपस्थित गराउन आदेश दिएको हो । पक्राउविरुद्ध उनकी श्रीमती सरस्वतीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा श्रेष्ठलाई प्रहरीले बुधबार राति पक्राउ गरेको थियो । साथै जनआस्था साप्ताहिकको कार्यालय र श्रेष्ठको निवास खानतलासी गरी कम्प्युटर, ल्यापटप, मोबाइल लगायतका विद्युतीय सामग्री समेत प्रहरीले जफत गरेको छ ।

उनीमाथि अनुसन्धान गर्न अदालतले विहीबार तीन दिनको म्याद दिएको थियो ।उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएकोमा हाल प्रहरी वृत्त महाराजगञ्जको हिरासत सारिएको छ ।

विश्व प्रेस काउन्सिलका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठ प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष एवम् नेपाल पत्रकार महासंघका पूर्व महासचिव हुन् ।

उनलाई पक्राउ गरेको र जनआस्थाको कार्यालयमा खानतलासी गरेकोमा नेपाल पत्रकार महासंघ, नेपाल मिडिया सोसाइटी, विश्व प्रेस काउन्सिल, विभिन्न राजनीतिक दलहरुले विरोध गर्दै निस्शर्त रिहा गर्न माग गर्दै आएका छन् ।

  • २९ श्रावण २०८३, शुक्रबार १२:०१ प्रकाशित