काठमाडौं।
स्वास्थ्य सेवा विभाग अन्तर्गत राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जापानिज इन्सेफलाइटिस रोगको जोखिमबारे सजग रहन सर्वसाधारणमा अपिल गरेको छ । लामखुट्टेको टोकाइबाट मानिसको मस्तिष्कमा सङ्क्रमण हुने यो एक गम्भीर रोग हो ।
यो रोग जुनसुकै उमेर समूहका मानिसलाई लाग्न सक्ने भए तापनि धेरैजसो १५ वर्ष मुनिका बालबालिकामा बढी देखिने गर्दछ । यो भाइरसबाट सङ्क्रमित हाँस, कुखुरा जस्ता चराचुरुङ्गी तथा सुँगुर–बँगुर जस्ता जनावरहरूलाई टोकेको लामखुट्टेले मानिसलाई टोक्दा यो रोग सर्छ । तर, यो रोग मानिसबाट मानिसमा भने प्रत्यक्ष रूपमा सर्दैन । नेपालमा विशेष गरी साउनदेखि कात्तिक महिनासम्म जापनिज इन्सेफलाइटिसको सङ्क्रमण बढी देखिने गरेको छ ।
यस रोगका मुख्य लक्षणहरूमा बेस्सरी टाउको दुख्ने, उच्च ज्वरो आउने, बेहोस हुने, घाँटी अररो (कडा)हुने, शरीर कम्पन हुने र पक्षाघात हुने जस्ता समस्याहरू पर्दछन् । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका अनुसार समयमै उचित उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्ने भएकाले सतर्कता अपनाउनु अत्यावश्यक छ ।
केन्द्रले लामखुट्टेको टोकाइबाट बच्न उपायहरू अपनाउन, घर तथा वरपरको वातावरण सफा राख्न र उल्लेखित लक्षणहरू देखिने बित्तिकै नजिकैको स्वास्थ्य संस्थामा गई तत्काल उपचार गराउन आग्रह गरेका छन् ।












