राम्दीस्थित कालीगण्डकीमा नेपालकै पहिलो ‘टाइड आर्च’ पुल निर्माण

प्रकाश डोटेल

स्याङ्जा ।

सिद्धार्थ राजमार्गअन्र्तगत पोखरा–बुटवल सडकखण्डको राम्दीस्थित कालीगण्डकी नदीमाथि ‘टाइड आर्च’ मोटरेबल पुल निर्माण गरिएको छ । गण्डकी र लुम्बिनी प्रदेश जोड्ने गरी स्याङ्जा र पाल्पाको सिमाना राम्दीमा नेपालकै पहिलो टाइड आर्च प्रविधिमा सडक पुल निर्माण भएको हो ।

निर्माणको मुख्य काम सकिएसँगै केही समयभित्र सामान्य फिनिसिङ र पुल आसपास दुवै छेउका अवरोध हटाएपछि सवारीसाधन सञ्चालनमा ल्याइने तयारी गरिएको छ । सडक विभाग पुल सेक्टर पोखराका अनुसार रामनदीधाम (राम्दी) मा निर्माण सम्पन्न पुल ‘कङ्क्रिट फिल स्टिल ट्युब आर्च ब्रिज (टाइड आर्च)’ प्रविधिमा आधारित हो ।

पुलको डिजाइन थाइल्यान्डका डिजाइनरले तयार गरेका हुन् । यस्तै प्रकारका पुल चीन, भुटान र दुबईमा भए पनि नेपालमा पहिलो पटक निर्माण गरिएको छ । एक स्पानमा निर्माण गरिएको पुल १२० मिटर लामो र ११ मिटर चौडा रहेको छ । पुल सेक्टर पोखराका प्रमुख कृष्णप्रसाद अधिकारीका अनुसार नयाँ पुल २०२८ सालमा निर्माण गरिएको पुरानो ट्रस पुलभन्दा २७ मिटर लामो छ ।

नयाँ पुलको दुवै साइडमा केही सामान्य निर्माण कार्य र रङरोगन मात्रै बाँकी रहेको प्रमुख अधिकारीले जनाए । यद्यपि पुल सञ्चालनअघि दुवै छेउमा रहेका केही घर हटाउन बाँकी रहेको उनले बताए । पुल आसपासका संरचना व्यवस्थापनको काम सकिएसँगै करिब एक महिनाभित्र नयाँ पुलबाट नियमित सवारी आवागमन सुरु गर्ने तयारी रहेको अधिकारीले जानकारी दिए ।

निर्माण कम्पनीसँग २७ करोड ७१ लाख ९ हजार ६ सय रुपैयाँमा पुल निर्माण गर्ने गरी २०७९ असार ३० मा चितवनको हिम सगरमाथा प्रालिसँग ठेक्का सम्झौता गरिएको थियो । तर, डिजाइन तयार हुन ढिलाइ, भारतबाट निर्माण सामग्री र चीनबाट आवश्यक प्राविधिक विज्ञ समयमै उपलब्ध हुन नसक्दा निर्माण कार्य निर्धारित समयमा सम्पन्न हुन सकेको थिएन् । निर्माण सम्पन्न गर्न तीन वर्षको समय तोकिएको भए पनि काम सम्पन्न नभएपछि अन्तिम पटक गएको असार २७ गतेसम्म एक वर्षका लागि म्याद थपिएको सेक्टर कार्यालयले जनाएको छ ।

पुरानो ट्रस पुल जीर्ण बन्दै जाँदा विशेषगरी मालवाहक सवारीसाधन सञ्चालनमा समस्या हुँदै आएको थियो । संचालनको अन्तिम तयारीमा रहेको नयाँ पुल ७० मेट्रिक टन भार क्षमताका ठूला मालवाहक सवारीसाधनसमेत सहज रूपमा सञ्चालन गर्न सकिनेछ । पाँच दशकभन्दा बढी पुरानो पुलले गण्डकी र लुम्बिनी प्रदेशबीचको मुख्य यातायात धाने पनि जीर्ण बन्दै गएपछि नयाँ पुल निर्माणको आवश्यकता महसुस गरिएको थियो ।

राम्दीको पुरानो ट्रस पुल सिद्धार्थ राजमार्ग निर्माणसँगै २०२२ सालमा बनाउन थालिएको थियो । करिब छ वर्षपछि २०२८ सालमा निर्माण सम्पन्न भएको उक्त पुलको उदुघााटन तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले गरेका थिए । नयाँ पुल सञ्चालनमा आएपछि दुई प्रदेशबीचको यातायात थप सुरक्षित, सहज र प्रभावकारी हुने विश्वास गरिएको छ । साथै वर्षौंदेखि जीर्ण ट्रस पुलमा निर्भर रहनुपरेको समस्या पनि अन्त्य हुने अपेक्षा गरिएको स्थानीयले बताएका छन् ।

बुटवलबाट पाल्पा–स्याङ्जा हुँदै झण्डै १६० किलोमिटर सिधा यात्रामा पोखरा आवतजावत गर्ने मालवाहक सवारीसाधन पुलकै कारण बुटवलबाट चितनव भएर झण्डै २७० किलोमिटरको यात्रातय गर्न बाध्य छन् । सामान ओसारपसार गर्ने सवारीसाधन घुमाउँरो सडक भएर पोखरा–स्याङ्जा आइपुग्दा दैनिक उपभोग्य वस्तुसहितका सामग्रीको ढुवानी लागत महंगो पर्न गएको छ ।

तराइ–पहाड जोड्ने देशकै छोटो सिद्धार्थ राजमार्गको राम्दीमा ठूलो भार क्षमताको पुल बनेसँगै समयको बचत र ढुवानी लागत कम पर्ने भएपछि उपभोग्य सामान धेरै सस्तो मूल्य पर्ने स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष रविन्द्रमान श्रेष्ठले बताए । पुल सञ्चालनमा आएसँगै सिद्धार्थ राजमार्ग व्यवस्थित बनाउन सके पर्यटन आगमनमा वृद्धि भएर आर्थिक गतिविधिले तीव्रता पाउने पूर्वअध्यक्ष श्रेष्ठको भनाई छ ।

  • २६ श्रावण २०८३, मंगलवार १६:४९ प्रकाशित