काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रतिपक्षले सरकारलाई प्रश्न गर्दा ‘केपी ओलीका कार्यकर्ता’को ट्याग भिराउने र ‘सरकारलाई काम गर्न दिएन’ भन्ने जवाफ दिने गरेको भन्दै आपत्ति जनाएका छन् ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै नेता शाहीले जनताले आफूहरूलाई प्रश्न गर्न निर्वाचित गरेर पठाएको जिकिर गरे ।साथै, उनले प्रतिपक्षको भुमिकामा रहेकाले सरकारसँग प्रश्न गर्न पाउनुपर्ने पनि बताए ।
आफूले जापानमा रहँदा सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिलाई लिएर आफ्नो र परिवारको चरित्र हत्या गर्न सत्तारुढ दलकै कार्यकर्ता लागेको आरोप पनि उनले लगाए ।
‘अहिले प्रतिपक्षले प्रश्न गर्ने बित्तिकै दुईवटा जवाफ आउँछन्, एउटा–केपी ओलीको कार्यकर्ता, अर्को–सरकारलाई काम गर्न दिएन । म अपिल गर्न चाहन्छु पहिलो कुरा हामी केपी ओलीका कार्यकर्ता होइनौँ । अहिले सरकार सम्हालिरहेका भन्दा उमेरले सानो भएपनि म राजनीतिमा तपाईंहरूभन्दा पुरानो हो,’ उनले भने, ‘हिजो झण्डै दुई तिहाई बहुमतको केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा यही संसदको रोष्टमा उभिएर सबैभन्दा धेरै प्रतिप्रश्न गर्ने सांसदहरुमध्ये एक हुँ ।’
उक्त अभिव्यक्ति संवैधानकि आयोग तथा मानव अधिकार आयोगको प्रतिवेदनको आधारमा व्यक्त गरेकोले त्यस्तो कुनैपनि अप्रमाणित कुरा नरहेको उनले बताए ।













