काठमाडौं ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले ट्राफिक प्रहरीले सडकमा सिठी फुकेर मात्रै ट्राफिक व्यवस्थापन तथा सडक दुर्घटना न्यूनीकरण गर्न नसकिने बताएका छन् ।
आइतबार आयोजित ‘ट्राफिक व्यवस्थापनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरू’ विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनको लागि प्रविधिमैत्री ‘फेसलेस ट्राफिक’ प्रणालीतर्फ जानुपर्नेमा जोड दिए । सडक अनुशासन उल्लङ्घनका कारण निर्दोष नागरिकको ज्यान जाने क्रम रोक्न प्रविधिको प्रयोगसँग पूर्वाधार विकास तथा ट्राफिक शिक्षा अतिआवश्यक रहेको बताए ।
मादक पदार्थ तथा लागुऔषध सेवन गरेर सवारी चलाउने र तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति सडक दुर्घटनाका प्रमुख कारण रहेको उनको भनाइ छ । सडक नियम पालना नगर्ने चालकका कारण नियम पालना गरिरहेका अन्य सडक प्रयोगकर्तासमेत जोखिममा पर्ने गरेको उनले बताए ।
उनले ट्राफिक व्यवस्थापनमा सडक सुरक्षा क्षेत्रका ‘थ्री ई’ अर्थात् इन्जिनियरिङ, एजुकेसन र इन्फोर्समेन्ट तीनै पक्षलाई प्रभावकारी बनाउनुपर्ने बताए । सडकको डिजाइन तथा पूर्वाधार सुधारसँगै ट्राफिक शिक्षा विद्यालय तहदेखि नै पाठ्यक्रममा समेट्नुपर्ने उनको भनाइ छ ।
उनले नेपालमा हालसम्म ट्राफिक नियमसम्बन्धी शिक्षा नेपालको कुनै विद्यालय तथा विश्वविद्यालयमा पढाई नहुने गुनासो गरे । उनका अनुसार ट्राफिक प्रहरीले पछिल्लो समय विद्यालय, कलेज तथा विश्वविद्यालयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
सामाजिक सञ्जालमार्फत हरेक साता करिब २० देखि ३० लाख मानिससम्म ट्राफिक सचेतनामूलक सामग्री पुर्याउने र प्रत्यक्ष रूपमा मासिक तीनदेखि चार लाख मानिसलाई सचेतना कार्यक्रममार्फत जोड्ने प्रयास भइरहेको उनले बताए ।
ट्राफिक नियम उल्लङ्घनपछि सञ्चालन हुने सचेतना कक्षाले पनि प्रभावकारी परिणाम दिएको उनको दाबी छ । कक्षामा सहभागी अधिकांशले ट्राफिक नियमसम्बन्धी शिक्षा चालक अनुमति पत्र लिने समयमै पाएमा अझ प्रभावकारी हुने उनको भनाइ छ ।













