बैधानिकताबारे सर्वोच्चको पुनरवलोकन आदेशको सामना गछौं : कांग्रेस सभापति थापा

केन्द्रभाग मिडिया

काठमाडौंं ।

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको वैधानिकता र विशेष महाधिवेशनका सम्बन्धमा सर्वोच्च अदालतले दिएको पुनरवलोकन आदेशलाई सहज रूपमा लिँदै त्यसको सामना गर्ने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै थापाले पार्टीका कामहरू विधानसम्मत भएकाले डराउनुपर्ने अवस्था नरहेको बताए । बैठकमा थापाले कांग्रेसको विशेष महाधिवेशन विधानसम्मत ढंगले सम्पन्न भएको र त्यसलाई निर्वाचन आयोगले पनि कानुनअनुसार नै अध्यावधिक गरेको स्मरण गरे । ‘हाम्रो विशेष महाधिवेशन विधानसम्मत छ। निर्वाचन आयोगले पनि यसलाई कानुनसम्मत ठहर गर्दै अभिलेखीकरण गरिसकेको छ,’ उनले भने ।

पार्टीको निर्णयप्रति चित्त नबुझाएका केही व्यक्तिहरू सर्वोच्च अदालत गएको र सुरुमा अदालतले पनि विशेष महाधिवेशनकै पक्षमा निर्णय दिएको उल्लेख गर्दै थापाले भने, ‘अहिले असन्तुष्ट पक्ष पुनरवलोकन निवेदन लिएर जानुभएको छ र अदालतले त्यसको अनुमति दिएको छ। यो न्यायिक प्रक्रियाको एउटा पाटो हो ।’

 थापाले अदालतको यो कदमबाट विचलित हुन नपर्ने बताउँदै कांग्रेस अब शानका साथ अदालत जाने र आफ्ना प्रमाणहरू पेस गर्ने उल्लेख गरे । उनले थपे, ‘अदालतमा एक पटक सत्य ठहरिएको कुरा फेरि पनि सत्य नै हुन्छ, हामीलाई न्यायालयप्रति विश्वास छ ।’

उनले कानुनी लडाइँभन्दा पनि पार्टीका नेता तथा कार्यकर्ताहरूबिचको विश्वास ठुलो कुरा भएको बताए ।

  • २४ श्रावण २०८३, आईतवार १५:५१ प्रकाशित