काठमाडौं ।
करदाता प्रोत्साहन उपहारअन्तर्गत विजेताहरु घोषणा गरिएको छ । आन्तरिक राजस्व विभागले सुरु गरेको उक्त कार्यक्रमअन्तर्गत पहिलो चरणमा आज अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले १५ जना विजेता र एक जना बम्पर उपहार विजेता छनोट गरे ।
विभागका अनुसार बम्पर उपहार कार्यक्रम अन्तर्गत १० लाख कुपन नम्बर ००७३१५२५४४९३ लाई परेको छ । यो कुपन भएका व्यक्ति शिवकृष्ण जनरल स्टोरबाट रु २५० को सामान खरिद गरी कार्यक्रममा सहभागी भएका थिए ।
करदाता प्रोत्साहन उपहार कार्यक्रमको शुभारम्भ गर्दै अर्थमन्त्री वाग्लेले करदाता प्रोत्साहन उपहार कार्यक्रमले बिल लिने–दिने संस्कृतिको विकास गर्दै औपचारिक अर्थतन्त्रलाई बढावा दिन मद्दत मिल्ने बताए । उनले चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरिएको उक्त कार्यक्रमले सार्वजनिक वित्त प्रणालीलाई थप पारदर्शी बनाउनेमा विश्वास व्यक्त गरे ।
डिजिटल भुक्तानीमार्फत भएका कारोबार स्वतः प्रणालीमा अभिलेख हुने व्यवस्था गरिएको छ । पहिलो चरणमै करिब दुई करोड ५६ लाख कारोबार र ७६ अर्ब भन्दा बढी रकमका प्रणालीमा समावेश भइसकेको उल्लेख गर्दै उनले आगामी दिनमा मासिक कारोबार खर्बौ पुग्ने विश्वास अर्थमन्त्रीले व्यक्त गरे ।
सरकारले बिल बिजक भ्याट बिल लिने–दिने संस्कृतिलाई प्रवर्द्धन गर्दै आर्थिक कारोबारलाई पारदर्शी बनाउने उद्देश्यले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ सुरु गरेको हो ।
यही साउन १ देखि १५ गतेसम्म ७ हजार ७७ वटा नगद कारोबारबाट करिब ८ करोड २४ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा खरिदको विवरण विभागको वेबसाइटमा प्रविष्ट गरिएको छ । विवरणअनुसार तीन हजार ९१५ विक्रेतासँग भएका कारोबार समावेश छन् भने विद्युतीय भुक्तानीमार्फत दुई करोड ५६ लाख ८ हजार ९४ वटा कारोबार भएका छन् ।
कुल कारोबार रकम रु ७६ अर्ब ६० करोड तीन लाख २३ हजार ३८१ भएको छ । डिजिटल माध्यमबाट भएका कारोबार स्वतः उपहार कार्यक्रममा समावेश हुने व्यवस्था छ । रासस












