काठमाडौं।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न पार्टीको आधिकारिक संयन्त्रबाहिर गएर आधिकारिक निर्णय प्रक्रियालाई अवरुद्ध गर्न खोज्नेलाई कारबाही गर्ने भएको छ।
रास्वपाले सार्वजनिक गरेको ‘उम्मेदवार छनोट रुपरेखा–२०८३’ को आचारसंहिता तथा दण्ड–सजयासम्बन्धी पाँच बुँदे विशेष व्यवस्थाको बुँदा नम्बर ४ मा गुटबन्दी, दुष्प्रचार र चरित्र हत्या गर्नेलाई गम्भीर अनुशासनहीनता मानिने उल्लेख छ।
‘उम्मेदवारीको पक्षमा माहोल बनाउन पार्टीको आधिकारिक संयन्त्रबाहिर गुटगत भेला गर्ने, समानान्तर संरचना खडा गर्ने, दबाब समूह निर्माण गर्ने, पार्टीका आधिकारिक निर्णय प्रक्रियालाई अवरुद्ध गर्न खोज्ने, वा अन्य आकांक्षी, पार्टी संरचना वा मूल्याङ्कन संयन्त्रविरुद्ध सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा भ्रामक सूचना, मिथ्या आरोप, दुष्प्रचार वा चरित्र हत्या गर्ने कार्यलाई अनुशासनको गम्भीर उल्लङ्घन मानिनेछ’, रुपरेखामा भनिएको छ।
राजनीतिक प्रतिस्पर्धा स्वस्थ, मर्यादित र विचार–केन्द्रित हुनुपर्छस व्यक्तिहत्यात्मक, गुटगत र विधिविरोधी अभ्यासलाई पार्टीभित्र कुनै स्थान नदिइने भनिएको छ । यस्तो कार्यमा संलग्न आकांक्षीको उम्मेदवारी प्रक्रिया तत्काल खारेज गरी अनुशासनको कारबाही अघि बढाइनेछ उल्लेख छ।













