काठमाडौं।
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता राम कार्की पार्टी त्यागेका छन् । प्रलोपा औपचारिक रूपमा विभाजन भएपछि कार्कीले पार्टीबाट अलग भएको घोषणा गरेका हुन् ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीमा आफू सुरुदेखि नै कुनै पनि कार्यकारी पदमा नरहेकोको जानकारी दिँदै उनले ‘मार्क्सिस्ट स्कुल अफ प्राक्शिस’ अनुबन्धित रहने प्रतिबद्धता जनाएका छन् ।
‘मेरो हकमा म सुरुदेखि नै कुनै पनि कार्यकारी पदमा रहेको थिइन। हाल युवा तन्नेरीहरूको पहलमा निर्माणाधीन वैचारिक पाठशाला मार्क्सिस्ट स्कुल अफ प्राक्शिसमा अनुबन्धित रहने प्रतिबद्धता जाहेर गरिसकेकाले म यसै पाठशाला र यसका वरिपरिको काममा सीमित रहनेछु। प्रलोपामा रहँदा साथीहरूले गर्नुभएको न्यानो व्यवहारलाई सदा सम्झिरहनेछु’, कार्कीले लेखेका छन् ।
बुधबार प्रलोपाबाट साबिकका नयाँ शक्ति समूह सहमतिमै पार्टीबाट अलग भएका थिए । प्रलोपामा आइपुगेका अधिकांश नेताहरू संसदीय जडतामा फसेका पार्टीहरूबाट आएकाले छोटो समयमै पार्टी विभाजित हुन पुगेको उनको निष्कर्ष छ ।
उनले लेखको छन्– ‘प्रगतिशील लोकतान्त्रिक पार्टीमा जम्मा हुन आइपुगेका हामीमध्ये अधिकांश संसदीय जडतामा फसेका पार्टीहरूबाट भर्खर भर्खर बाहिर आएका थियौँ। त्यसैले हामीमध्ये धेरैको निम्ति राजनीति भनेकै निर्वाचन हुन पुग्यो। त्यतिबेला निर्वाचनतर्फ नलागेर प्रगतिशील अभियानतर्फ हामी लागेको भए परिणाम सायद अर्कै हुने थियो ।’
पुराना पार्टीहरू विसर्जित भएको घोषणासहित अगाडि आएको प्रलोपा निर्वाचनको भुमरीमा पसेपछि आफ्नो वैचारिक अडानमा कायम रहन नसकेको उनको भनाइ छ ।













