काठमाडौं ।
पाकिस्तानको ब्रोड पिक हिमालको अत्यन्तै जटिल र जोखिमपूर्ण मानिएको स्थानबाट निम्स दाइ सहितको शव सङ्कलन गरेर अस्पताल पुर्याइएको छ ।
पाँच जना आरोहीको शव हेलिकप्टरमार्फत स्कार्दुस्थित सीएमएच अस्पताल पुर्याइएको अल्पाइन क्लब अफ पाकिस्तानले एक विज्ञप्ति जारी गर्दै आधिकारिक जानकारी दिएको हो । आरोहीहरू निर्मल पुर्जा (निम्स दाइ) वाङ जोङ, निमा शेर्पा, ग्यालु शेर्पा र किल्ली पेम्बा ‘किलु’ शेर्पाको शव सङ्कलन गरी अस्पताल पुर्याइएको क्लबले जानकारी गराएको हो ।
क्लबका अनुसार अस्पतालमा आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया र कागजात तयार पारिएपछि यी शवहरूलाई पाकिस्तानको राजधानी इस्लामावाद स्थानान्तरण गरिनेछ । ब्रोड पिकमा ज्यान गुमाएका अन्य दुई आरोही नाधिरा अलहार्थी र पुरबहादुर गुरुङ ‘युक्त’ शेर्पाको शव भने आवश्यक प्रक्रिया पूरा गरी गृहदेश पठाइसकिएको क्लबले जनाएको छ । युक्त नेपाली हुन भने नाधिरा ओमानी हुन् ।
उक्त दुर्घटनामा परेका सोहेल साखी र म्यालोरी गाइस अझै बेपत्ता रहेका छन् । त्यस्तै अर्का नेपाली आरोही नवाङ थिन्डु शेर्पाको शव अत्यन्तै उच्च उचाइ र हिम पहिरोको तीव्र जोखिम रहेको क्षेत्रमा रहेकाले हालको परिस्थितिमा सङ्कलन गर्न नसकिएको अल्पाइन क्लबले स्पष्ट पारेको छ ।













