चितवन ।
मुहान क्षेत्रमा लगातार भइरहेको वर्षाका कारण नारायणी नदीको जलसतह सतर्कता तह पार गरेको छ। नदीमा बहाव बढेपछि चितवनका तटीय क्षेत्रमा प्रहरीले माइकिङ गर्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।
चितवन र आसपासका क्षेत्रमा वर्षा नभए पनि नारायणी नदीको माथिल्लो तटीय क्षेत्रमा भइरहेको भारी वर्षाका कारण नदीको बहाव एक्कासि बढेको हो।
बाढी पूर्वानुमान महाशाखाले पनि नारायणी नदीमा बाढीको सम्भावना रहेको जनाउँदै साउन २३ गतेसम्म नदीको सतह थप बढ्न सक्ने प्रक्षेपण गरेको छ। त्यसलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय चितवन र सुरक्षा निकायले नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेका छन्।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै वडा प्रहरी कार्यालय नारायणगढ र जिल्ला प्रहरी कार्यालय चितवनका सुरक्षाकर्मी बुधबार बिहानदेखि तटीय क्षेत्रमा परिचालित भएका छन्। प्रहरीले माइकिङमार्फत सर्वसाधारणलाई नदी किनारमा नजान, अनावश्यक आवतजावत नगर्न तथा आवश्यक परे सुरक्षित स्थानमा सर्न अनुरोध गरिरहेको छ।
नदी किनारमा व्यवसाय सञ्चालन गरिरहेका ठेला तथा अन्य अस्थायी व्यवसायीलाई पनि सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।
नदीको जलसतह अझै बढ्न सक्ने अनुमान रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन जिल्ला प्रहरी कार्यालय चितवनले आग्रह गरेको छ। साथै, बाढीसँग सम्बन्धित सूचना तथा सुरक्षा निकायको निर्देशन पालना गर्न पनि अनुरोध गरिएको छ।













