प्रतिनिधिसभाको संसदीय क्यालेन्डर सार्वजनिक

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रतिनिधिसभाको संसदीय क्यालेन्डर आएको छ । बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल भएर स्वीकृत भएपछि संसदीय क्यालेन्डर सार्वजनिक गरिएको हो ।

क्यालेन्डरअनुसार साउन महिनामा अब तीन वटा बैठक बस्ने छन् । प्रतिनिधिसभाको बैठक भोलि शुक्रबार छ । जहाँ शून्य समय, विशेष समय चलाउने भनिएको छ ।

भोलिको बैठकमा नेपाल विशेष सेवा ऐन २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ ।

संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, खानी तथा खनिज पदार्थ विधेयक, २०८३, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ र राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्ने विषय पनि समावेश छ ।

अर्को बैठक साउन २५ गते बस्नेछ । जहाँ शून्य समय, शून्यरविशेष र आकस्मिक समयमा उठेका प्रश्नको मन्त्रीबाट जवाफ दिने कार्यक्रम राखिँदै छ ।

मन्त्रालयगत प्रश्नोत्तर, मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३, बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक र कर्मचारी सञ्चय कोष (दशौं संशोधन) विधेयक २०८३ प्रस्तुत गर्ने विषय समावेश छ ।

संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयकसम्बन्धी समितिको प्रतिवेदनसहित छलफल र पारित गर्ने सम्भावित कार्यसूची छ ।

साउन २६ गते बस्ने बैठकमा शून्य समय, विशेष समय चलाउने भनिएको छ । सोही दिन खानी तथा खनिज पदार्थ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने भनिएको छ ।

संसदीय क्यालेन्डरअनुसार भदौ १५ गतेसम्म ६ वटा बैठक राखिने छ । भदौ १, २ र ३ गते बैठक राख्ने भनिएको छ । त्यसपछि भदौ ८, ९ र १० गते बैठक राख्ने गरी क्यालेन्डर तयार भएको छ ।

भदौ १ गते शून्य समय, शून्यरविशेष र आकस्मिक समयमा उठेका प्रश्नको मन्त्रीबाट जवाफ प्रस्तुत गर्ने भनिएको छ ।

भदौ २ गते मन्त्रालयगत प्रश्नोत्तर कार्यक्रम गर्ने भनिएको छ । त्यस दिन संयुक्त राष्ट्र संघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता पेस गर्ने भनिएको छ ।

भदौ ३ गते शून्य समय, शून्यरविशेष र आकस्मिक समयमा उठेका प्रश्नको मन्त्रीबाट जवाफ प्रस्तुत हुनेछ ।

भदौ ८ गते संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, खानी तथा खनिज पदार्थ विधेयक, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक र राहदानी (पहिलो संशोधन) विधेयकलाई सम्बन्धित समितिमा पठाउने सम्भावित कार्यसूची छ ।

भदौ ९ गते र १० गते पनि विधायिकी कार्यहरू गर्ने, मन्त्रालयगत प्रश्नोत्तर, वार्षिक प्रतिवेदन पेस, प्रस्तावहरू (जरुरीरसंकल्परध्यानाकर्षण) प्रस्ताव अगाडि बढाउने विषयहरू क्यालेन्डरमा छ ।

तर, प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने विषय संसदीय क्यालेन्डरमा आउन सकेको छैन ।वर्तमान सरकार बनेपछि प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुन सकेको छैन ।

  • २१ श्रावण २०८३, बिहीबार १२:५१ प्रकाशित