वर्तमान सरकारको दिनगन्ती सुरु भइसक्यो : विप्लव

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी  (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले वर्तमान सरकारको दिनगन्ती सुरु भएको टिप्पणी गरेका छन्।

बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव चन्दले सरकारको कार्यशैलीप्रति जनस्तरमा तीव्र असन्तुष्टि बढेका कारण यसको आयु छोटिन सक्ने दाबी गरेका हुन्।

परिवर्तनका पक्षधर र प्रगतिशील शक्तिहरूले समेत वर्तमान अवस्थालाई निराशाजनक रूपमा लिएको उल्लेख गर्दै उनले जनताले ठूलो धोका महसुस गरिरहेको बताएका छन्। प्रधानमन्त्री बालेन्द्र साहको नेतृत्वप्रति जनतामा रहेको अपेक्षा पनि समस्यामा पर्दै गएको उनको भनाइ छ।

देशको आर्थिक अवस्था डामाडोल भएको प्रति चिन्ता व्यक्त गर्दै उनले विदेशी ऋणको भार, उत्पादनमा कमी, सुकुम्बासी समस्या, मिटरब्याज र लघुवित्त पीडितका समस्याप्रति राज्य उदासीन रहेको आरोप लगाएका छन्। सरकारले यथाशीघ्र यी समस्या समाधान नगरे नयाँ आन्दोलन निर्माण गर्ने चेतावनी समेत उनले दिएका छन्।

कम्युनिस्ट पार्टीहरूबिचको एकता र सहकार्यको सन्दर्भमा महासचिव विप्लवले परम्परागत ढङ्गले पार्टी थप्ने वा फुटाउने प्रवृत्तिले निकास नदिने स्पष्ट पारेका छन्। पत्रकार सम्मेलनमा बोल्दै महासचिव चन्दले भने, ‘राजनीतिक वृत्त, बुद्धिजीवी र कूटनीतिज्ञहरूबिच यो सरकारको दिनगन्ती सुरु भएको चर्चा भइरहेको छ।’

उनले अगाडि थपे, ‘कतिपयले त दशैँ–तिहार अगावै सरकार परिवर्तन हुनेसम्मको अड्कलबाजी गरिरहेका छन्।’ यो कति यथार्थ हो भन्ने कुरा आगामी दिनले प्रस्ट पार्ने तर सरकारप्रति जनमानसको असन्तुष्टि भने बढ्दो रहेको उनले बताएका छन्।

महासचिव चन्दले मुलुकको आन्तरिक राजनीतिक परिस्थितिसँगै अन्तर्राष्ट्रिय शक्ति सन्तुलन पनि चुनौतीपूर्ण बन्दै गएको उल्लेख गरेका छन्। अन्तर्राष्ट्रिय शक्तिहरूका गतिविधि नेपाली जनताको अपेक्षा र राष्ट्रिय हित अनुकूल हुन नसक्नु चुनौतीपूर्ण रहेको उनले स्पष्ट पारेका छन्।

  • २० श्रावण २०८३, बुधबार १५:४४ प्रकाशित