बुटवल ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले साउनको अन्तिम साता प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । सोहीअनुसार साउन २५ देखि ३० गतेभित्र लुम्बिनी प्रदेश सभा बैठक बोलाउने तयारी भइरहेको छ ।
प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले साउन २५ देखि ३० गतेभित्र प्रदेश सभा बैठक बोलाउने विषयमा सरकारसँग छलफल भइरहेको बताए ।
‘सदन आवश्यक पर्दा नियमअनुसार बोलाउन सकिन्छ,’ सभामुख घर्ती मगरले भने, ‘अहिलेको छलफलअनुसार मुख्यमन्त्रीले साउनको अन्तिम साता विश्वासको मत लिने तयारी गर्नुभएको छ । त्यसका लागि साउन २५ देखि ३० गतेभित्र प्रदेश सभा बैठक बोलाउने आन्तरिक योजना छ ।’
नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच भएको सहमति अनुसार लुम्बिनी प्रदेश सरकारमा एमालेले नेतृत्व गर्ने छ । एमालेले मुख्यमन्त्रीमा आचार्यलाई नै निरन्तरता दिने भएको छ ।
यद्यपि मन्त्री चयनबारे टुङ्गो लागेको छैन । सत्ता साझेदार नेकपा एमाले र नेकपामा मन्त्रीका आकाङ्क्षी धेरै भएपछि मुख्यमन्त्री आचार्यले पहिले विश्वासको मत लिने र त्यसपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका हुन् ।
नेपाली कांग्रेसले साउन १२ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले संविधानअनुसार एक महिनाभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने भएको हो ।
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा स्वास्थ्यमन्त्री रामजी घिमिरेका अनुसार कांग्रेसले समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएकाले साउनको अन्तिम साता विश्वासको मत लिने विषयमा छलफल भएको छ ।













