सरकारको ‘स्टन्ट’ ले हजारौँ नागरिकको बिचल्ली भयो : भीष्मराज आङ्देम्बे

केन्द्रभाग मिडिया

काठमाडौं।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारको स्टन्टले हजारौं नागरिकको बिचल्ली भएको बताएका छन् । सुकुमबासी बस्तीमा विना तयारी डोजर चलाएर स्टन्टबाजी गर्दा सरकारले नागरिकको बाँच्ने भरोसा नै भत्काइदिएको उनको भनाई छ ।

मङ्गलबार प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्दै उनले सरकारको ‘स्टन्ट’ ले गर्दा हजारौँ नागरिक बिचल्लीमा परेको उल्लेख गरे। आङ्देम्बेले सुकुमबासी बस्ती हटाउने क्रममा तीन जना नागरिकले ज्यान गुमाएको पीडादायी तथ्य प्रस्तुत गरे । मनोहरा बस्तीमा डोजर चल्नुअघि १९ वर्षीय रविन तामाङले गरेको आत्महत्या, बल्खुमा घर भत्किएपछि ६१ वर्षीय इन्द्रबहादुर राई बागमतीमा मृत फेला परेको र कीर्तिपुरको होल्डिङ सेन्टरमा ३६ वर्षीय भेषराज दर्जीको उपचार अभावमा भएको मृत्युलाई उनले राज्यको अमानवीय व्यवहारको परिणाम भने ।
‘डोजरले टहरा मात्र भत्काएको छैन, कसैको बाँच्ने भरोसा भत्काएको छ र कसैको परिवारको सहारा खोसेको छ,’ उनले भने, ‘होल्डिङ सेन्टरमा सुत्केरी र बालबालिका भोकै बस्नुपर्ने अवस्था हुनु राज्यका लागि लज्जास्पद विषय हो।’

आङ्देम्बेले सुनसरी, सिरहा, धनुषा र पर्सामा भएका घटनामा सरकारले नागरिकको ज्यानै जाने गरी गोली चलाएकोमा कडा आपत्ति जनाए । उनले यी घटनाहरूको सत्यतथ्य छानबिनका लागि ‘न्यायिक छानबिन समिति’ गठन गर्न माग गरे ।

  • १९ श्रावण २०८३, मंगलवार १६:२५ प्रकाशित