काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा रानामगरले पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परेर ज्यान गुमाएका नेपाली आरोही निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेकी छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन् ।
गत बिहीबार आरोहणका क्रममा हिमपहिरोमा परेर बेपत्ता भएका पुर्जाको शव सोमबार भेटिएको थियो । सांसद रानामगरले पुर्जाले आफ्नो साहसिक विश्वकीर्तिमानमार्फत नेपाललाई विश्वभर चिनाउन महत्त्वपूर्ण योगदान दिएको बताइन् ।
उनले पुर्जासहित ब्रोड पिकमा हिमपहिरोमा परि ज्यान गुमाएमाहरूमा हार्दिक श्रदाञ्जली समेत व्यक्त गरिन् ।उनले भनिन्, ‘निर्मल पुर्जाले संसारभर नेपाललाई चिनाउन सफल हुनुभएको छ । त्यस्तो व्यक्तिलाई राज्यले राष्ट्रिय विभूतिको रूपमा लिनुपर्छ भन्ने कुराको माग गर्न चाहन्छु ।’
पुर्जाले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल छ महिनाभन्दा केही बढी अवधिमा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए । विश्वको १२ औँ अग्लो हिमाल ब्रोड पिकलाई आरोहणका लागि अत्यन्त चुनौतीपूर्ण हिमालमध्ये एक मानिन्छ ।













