मनाङको चामे गाउँपालिका–३ र ५ लाई जोड्ने गरी मस्र्याङ्दी नदीमा बेलिब्रिज निर्माण गरिएको छ ।
बेलिब्रिज सञ्चालनमा आएसँगै सडक सञ्जाल नपुगेको नार्पाभूमिका बासिन्दाको आवातजावत र ढुवानीमा सहज भएको छ । चौवन्न दशमलव चार मिटर लामो र चार मिटर चौडा उक्त बेलिब्रिजको सोमबार नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले उद्घाटन गरे । बेलिब्रिज निर्माणले नार्पाभूमि गाउँपालिकाको सडक पहुँच विस्तार भएको छ । सडक पहुँच विस्तारसँगै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, व्यापार तथा सरकारी सेवा प्रवाहमा सकारात्मक प्रभाव पर्ने अध्यक्ष लामाले बताए ।
पुल नार्पाभूमि गाउँपालिका र नारखोला हाइड्रो इनर्जी प्रालिको साझेदारीमा निर्माण गरिएको हो । भारवहन क्षमता ५५ टन रहेको उक्त पुल करिब छ करोडको लागतमा निर्माण भएको अध्यक्ष लामाले जानकारी दिए । हाल चामेदेखि नार्पाभूमिको सीमासम्म छ किमीसम्म सडक पुगेको छ । गाउँपालिकाको केन्द्र जोड्ने सडक निर्माण गर्न भने अझै ११ किमि बाँकी छ ।
स्थानीय नार खोलामा पुल बनेपछि जिल्ला सदरमुकाम चामे र त्यस गाँउपालिकामा सडक सञ्जालमा जोडिनेछ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशील लम्सालले बेलिब्रिज सञ्चालनमा आएपछि नार्पाभूमिलाई सडक सञ्जालसँग जोड्ने प्रक्रिया अगाडि बढेको बताए । रासस













